
काठमाडौं/ काठमाडौंका केही कुखुरा फार्ममा बर्डफ्लुको सङक्रमण देखा परेपछि उच्च सतर्कता अपनाइने भएको छ । बर्डफ्लु रोग नियन्त्रणसम्बन्धमा बसेको नगरस्तरीय बैठकले यस्तो निर्णय गरेको हो ।
बर्डफ्लुको सङक्रमणबाट कुखुरा भटाभट मर्न थाले पछि सङक्रमण क्षेत्र संगै आसपासका क्षेत्रमा पनि उच्च सतर्कता अपनाइएको छ । पशु स्वास्थ्य बिशेषज्ञको टोलीले बर्डफ्लुको परिक्षण गरिरहेको नगर पशु स्वास्थ्य शाखाले हाम्रो खबरपाटीलाई जानकारी दिए ।
सङक्रमण क्षेत्र संगै आसपासका तीन किमी क्षेत्रभित्र रहेका प्रत्येक फार्मको कुखुराको लक्षण जाँच गरिएको छ ।
विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी चल्ला, अण्डा, दानालगायत वस्तुमा केही दिन रोक लगाइने छ ।
त्यस्तै, स्थानीय स्वास्थ्यकर्मी तथा स्वास्थ्य स्वयंसेविकालाई दुई समूहमा परिचालन गरी स्थानीयवासीलाई जनचेतनामूलक कार्यक्रम गरी चेतना अभिवृद्धि गर्ने कार्य भईरहेको छ ।
बर्डफ्लुबाट तारकेश्वर –७ का श्यामसन्दुर बस्नेतको सागर पोल्ट्री फार्मका २८ हजार र श्यामकुमार बस्नेतको आकाश पोल्ट्री फार्मको ८ हजार कुखुरा नष्ट गरिएको थियो । आसपासका अन्य फार्मका कुखुरामा पनि बर्डफ्लुको लक्षण देखिन थालेपछि परीक्षणका लागि पशु स्वास्थ्य कार्यालय पठाइएको छ ।

