मेचीनगर, असोज ३ । दुवै मृगौला फेलभई हाल मृत्यु संग संघर्ष गरिरहेकी मेचीनगर ८ की निर्मला ढुंगानाको उपचारमा रोजगारीको शिलशिलामा अष्ट्रेलियामा रहदै आएका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । मेचीनगर– ८ स्थित प्रतिभा टोल निवासी हाल अष्ट्रेलियामा रहेका नियोत तिम्सिनाको नेतृत्वमा संकलित रकम रु ४० हजार निर्मलाको उपचारमा आर्थिक सहयोग गरेको छ ।
मेचीनगर ८ स्थित सेन्टरी टोल निवासी शुभनाथ ढुंगानाकी ३० वर्षिया छोरी निर्मला आर्थिक अभावका कारण यतिखेर जीवन र मृत्युको दोसाधमा छिन् । आफ्नो दुवै मृगौलाले काम गर्न छाडेपछि २८ महिना देखि डाइलोसिस गराउदै आएकी उनको उपचारमा आर्थिक अभाव भएपछि उनि जीवन मृत्युको दोसाधमा पुगेकी हुन् ।
आर्थिक अभावका कारण उपचारमा समस्या आएपछी छोरी बचाईदिन ढुंगाना परिवारले देश तथा विदेशमा रहेका सहयोगी मनकारी नेपालीलाई आग्रह गरेका थिए ।
हाल अष्ट्रेलियामा रहेका नियोत तिम्सिनाले निर्मलाको उपचारर्थ नगद ४० हजार आर्थिक सङ्कलन गरी नेपाल पठाएका हुन् । सो रकम उनकी आमा महेश्वरी तिम्सिना र मेचीनगर वडा नम्बर ८ का वडा सदस्य सन्तोष मेचेले संयूक्त रुपमा निर्मलाको घरमा नै पुगेर शनिबार सो रकम हस्तान्तरण गरेका हुन् ।

