


मेचीनगर, कात्तिक २४ । झापाको मेचीनगर नगरपालिकामा एक महिनाको अवधिमा दुईजना प्रमुख प्रशासकीय अधिकृत सरुवा भएका छन् । छोटो समयमा दुई जना प्रशासकीय अधिकृत सरुवा भएको भन्दै मेचीनगरका वडाध्यक्षहरुले असन्तुष्ट ब्यक्त गर्दै नगरपालिकालाई ज्ञापन पत्र बुझाइएका छन् ।
राजनैतिक चलखेलका कारण मेचीनगरको प्रमुख प्रशासकीय अधिकृत सरुवा हुनुले नगरका विकास निर्माण तथा योजना कार्यान्वयनमा समस्या उत्पन्न भएको भन्दै वडाध्यक्षहरुले नगरपालिकालाई ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराएका छन् ।
सोमबार मेचीनगर नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष सुवेशकुमार पनेरुको नेतृत्वमा वडा अध्यक्षहरुको टोलीले उपप्रमुख मिना पोख्रेल उप्रेतीको कार्यकक्षमा नै पुगी ज्ञापन पत्र बुझाएका हुन् ।



वडा अध्यक्षहरुले बुझाएको ज्ञापन पत्रमा भनिएको छ,‘ बिगतबाट नै प्रमुख प्रशासकीय अधिकृत लगायत महत्वपूर्ण जिम्मेवारीमा बसेका कर्मचारीहरुलाई राजनैतिक आस्था र हस्तक्षेपका आधारमा निर्धारित समयसम्म काम गर्न नदिई सरुवा गर्ने प्रबृत्तिले नगरका सम्पूर्ण विकासका योजनाहरुमा बाधा उत्पन्न हुँदै आएको छ’, ।
भर्खरै सरुवा भई आउँनु भएका प्रमुख प्रशासकीय अधिकृत दिनानाथ लम्सालको एक महिना नपुग्दै गरिएको सरुवाले सो प्रमाणित गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
‘नगरका प्रमुख कोरोना भाइरस संक्रमण भएर अस्पताल भर्ना भएको अवस्थामा गरिएको अधिकृतको सरुवा नियोजित हो र यस प्रकारको कार्य संघिय सरकारले नगरसंग समन्वय नगरी गरिएको सरुवा तथा निर्णय स्थानीय तहमा भएको प्रत्यक्ष हस्तक्षेप हो’, ज्ञापन पत्रमा भनिएको छ ।
हालै भएको प्रमुख प्रकासकीय अधिकृत दिनानाथ लम्सालको सरुवा खारेज गर्न माग गरि बुझाइएको ज्ञापन पत्रमा ८ जना वडा अध्यक्षहरुले हस्ताक्षर गरेका छन् । मेचीनगर वडा नम्बर ४, ५ ६, ७, ९, १०, १२ र १५ का वडा अध्यक्षले संयुक्त रुपमा सो ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।
नगरमा करीब एक महिना अघि सरुवा भएर आएका दिनानाथ लम्सालको पुनः सरुवा भएको छ ।
मेचीनगरमा नव आगन्तुक प्रमुख प्रशासकिय अधिकृतको रुपमा मोरङको रतुवा माई नगरपालिकाबाट सरुवा भई आउनु भएका खेमराज ओझालाई एक कार्यक्रमकमा बिच सोमबार आज स्वागत गरेको छ ।





