काठमाडौं, कात्तिक २४ । चर्चित हाँस्य सिरियल ‘सक्किगोनी’ अब हिमालय टेलिभिजनबाट प्रशारण हुने भएको छ ।
लामो समयदेखि नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको सिरियल मंसिर २५ गतेदेखी बिहीवार राती ८ बजे हिमालय टेलिभिजनबाट प्रशारण हुने भएको छ ।

अर्जुन घिमिरे र कुमार कट्टेलको कथा, पटकथा, संवाद र निर्देशनमा प्रशारण हुँदै आएको यो सिरियल लकडाउनका कारण केही महिनादेखि प्रशारण हुन सकेको थिएन । अब, मंसिर २५ गतेबाट नयाँ भाग प्रशारण गर्ने ‘सक्किगोनी’ का सिरिज निर्देशक दिपकप्रसाद आचार्य (काकु)ले जानकारी दिए । युटुब भने ओएसआरबाट नै अपलोड हुने पनि आचार्यले बताए ।
उनले, नेपाल टेलिभिजनबाट प्रशारण हुने सिरियलको बिषयमा टेलिभिजनले कहिले पनि चासो दिने नगरेको र सर्जकसँग कुराकानी पनि गर्ने शैलीको विकास नगरेको भन्दै गुनासो व्यक्त गरे ।
यो सिरियलमा अर्जुन घिमिरे, कुमार कट्टेल, सीपी पुडासैनी, शंकर आचार्य, कमलमणी नेपाल, दिपक आचार्य, सागर लम्साल, हरि निरौला, रक्षा श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।
लामो समयसम्म ‘भद्रगोल’ नामबाट प्रशारण हुँदै आएको सिरियल पछि विज्ञापन एजेन्सीको विवादपछि ‘सक्किगोनी’ नामबाट प्रशारण हुन थालेको थियो ।

