खेलकुद

मेस्सीको किर्तिमान

काठमाडौँ, पुस ८ । स्टाईकर लियोनल मेस्सीले किर्तिमान बनाएको खेलमा बार्सिलोनाले सहज जित हात पारेको छ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत गएरातीको खेलमा रियल भल्लाडोलिडलाई ३–० ले हराउदै बार्सा शीर्ष पाँचमा पुगेको हो । उसको जितमा क्लेमेन्ट लेङग्लेट, मार्टिन ब्रेथवेट र लियोनल मेस्सीले गोल गरे ।

२१ औ मिनेटमा मेस्सीको पासमा लेङग्लेटले गोल गर्दै बार्सालाई अग्रता दिलाएका थिए । मार्टिनले ३५ औ मिनेटमा टोलीको अग्रता दोब्बर पारे । ६५ औ मिनेटमा मेस्सीले गोल गर्दै टोलीको जित निश्चित पारे । योसंगै मेस्सीले बार्साका लागि ६ सय ४४ गोल गर्दै ब्राजिलियन लेजेण्ड पेलेको नाममा रहेको किर्तिमान तोडेका हुन् ।

अघिल्लो खेलमा मेस्सीले पेलेसंगको किर्तिमान बराबरी गरेका थिए । सन् १९५६ देखी १९७४ सम्ममा पेलेले ब्राजिलियन क्लब सान्तोषबाट ६ सय ४३ गोल गरेका थिए । सन् २००५ मा बार्साका लागि पहिलो गोल गरेका मेस्सीले १० सिजन ला–लिगा र ४ च्याम्पियन्स लिगबाट सो किर्तिमान बनाएका हुन् ।

बार्साको १४ खेलबाट २४ अंक भएको छ । गएराती नै शीर्ष स्थानको एट्लेटिको मड्रिडले रियल सोसिडाडलाई २–० ले हराउदै शीर्ष स्थानमा ३ अंकको अग्रता बनाएको छ । सेभियाले भ्यालेन्सीयालाई १–० ले हराउदा गएरातीका अन्य ३ खेल भने बराबरीमा सकिएका छन् ।

ईल्चे र ओसासुनाले २–२ गोलको बराबरी खेल्दा हुएस्का र लेभान्ते तथा भियारियल र एथ्लेटिको बिल्बाओले एक एकको बराबरी खेल्दै अंक बाँडेका छन् ।