मेचीनगर, चैत ३१ । लागुपदार्थ दुव्र्यसनी न्यूनीकरण गर्ने उद्देश्यका साथ अनेरास्ववियू काँकरभिट्टा बहुमुखी क्याम्पसले मंगलवार लागुपदार्थ दुव्र्यसनविरुद्ध सचेतना प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र यूनियन काँकरभिट्टा बहुमुखी क्याम्पसको आयोजनामा सम्पन्न कार्यक्रममा लागुऔषधले पार्ने प्रभाव, दुव्र्यसनबाट बच्ने तरिकाबारे विद्यार्थीलाई जानकारी गराइएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि दुर्गा धमलाले जीवनलाई कर्तव्य र आनन्दको संगम ठान्न नसक्दा मानिस अनौठो विकृतिको खाडलमा भासिन पुगेको बताए ।
अर्का अतिथि नेपाल प्राज्ञा प्रतिष्ठानका सदस्य सुभद्रा भट्टराई अर्यालले विद्यार्थीलाई लागुऔषधको प्रयोगबाट टाढै रहन सुझाव दिएकी थिइन् । कार्यक्रममा ठाकुरप्रसाद शिवाकोटीले आजका युवा भोलिका देश हाँक्ने सारथी भएको बताए ।

कार्यक्रमका प्रशिक्षक गोविन्द न्यौपानेले प्रशिक्षणका क्रमममा भने, ‘लट्ठ बनाउने नशालु पदार्थलाई लागूपदार्थ भनिन्छ भने त्यही पदार्थको खराब लतलाई दुव्यर्सन भनिन्छ ।’
काँकरभिट्टा बहुमुखी क्याम्पसमा आयोजित प्रशिक्षणमा कक्षा १२ र बीबीएस\बीएड का १२० भन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो । किशोर अवस्थामा कुलततर्फ लाग्ने सम्भावना अत्यधिक भएको हुँदा त्यसलाई रोक्नका लागि यस्ता खालका प्रशिक्षण फलदायी हुने अनेरास्ववियू काँकरभिट्टा बहुमुखी क्याम्पसका संयोजक विनम सरदारले बताए ।

अनेरास्ववियू काँकरभिट्टा बहुमुखी क्याम्पसका संयोजक विनम सरदारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकार सन्तोष आचार्य, कार्यक्रमका प्रशिक्षक गोविन्द न्यौपाने, नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्य तथा प्रदेश नं १ इन्चार्ज शंकर थापा, अनेरास्ववियू केन्द्रीय स्थायी कमिटी सदस्य दुर्गा धमला, तारापुञ्ज अंग्रेजी माविका प्रिन्सिपल ठाकुरप्रसाद शिवाकोटी, अनेरास्ववियू झापा जिल्ला सदस्य हरि भट्टराई, जिल्ला कार्यालय सदस्य सन्तोष धमला, अनेरास्ववियू मेचीनगर कमिटी संयोजक आशिष पौडेल, अनेरास्ववियू काँकरभिट्टा बहुमुखी क्याम्पसका सहसंयोजक प्रतिक्षा न्यौपानेलगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रतिक्षा पराजुलीले स्वागत गरेकी थिइन् भने सञ्चालन सन्तोष धमलाले गरेका थिए ।

