स्वास्थ्य

सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी जवना सर्पको डसाइबाट घाइते

झापा, जेठ ३० । सीमा सुरक्षामा खटिएका एक सशस्त्र प्रहरीलाई विषालु सर्पले डसेको छ ।

सर्पको डसाइबाट घाइते भएका सशस्त्र प्रहरी जवान २२ वर्षीय विवेक रजतको सर्पदंश उपचार केन्द्र चाराआलीमा उपचार भइरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका एसपी रमेशकुमार पाण्डेले जानकारी दिए ।

दक्षिणी झापाको कचनकवल गाउँपालिका ४ स्थित बयरवारिमा सीमा सुरक्षामा खटिएका जवान रजतलाई आइतबार बिहान ३ बजे विषालु सर्पले डसेको थियो ।

सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट केचना मातहत ११७/२४ नम्बरको सीमा पिलर सुरक्षाका लागि बनाइएको फरवार्ड पोस्टमा ती जवान खटिएका थिए । उनलाई सर्पले देब्रे कानमा डसेको बताइएको छ ।

सर्पको डसाइबाट घाइते भएका उनलाई तत्काल सशस्त्र प्रहरीकै गाडीमा राखेर उपचारका लागि सर्पदंश उपचार केन्द्र चाराआली लगिएको बताइएको छ ।

उनको अवस्थामा खतरामुक्त रहेको र आजै साँझसम्म डिस्चार्ज दिने एसपी पाण्डेको भनाई छ ।