राजनीति

वडाध्यक्ष पनेरुलाई जनताप्रति जवाफदेही बन्न एमालेको चेतावनी

मेचीनगर, जेठ ३० । नेकपा एमाले मेचीनगरका अध्यक्ष राजु पोखरेलले कोरोनाविरुद्धको खोप वितरणमा भएको अनियमितताका विषयमा जनताले जिज्ञासा राख्दा नगरको वडा नं. १० का वडाध्यक्ष सुदय पनेरुले गरेको अमर्यादित व्यवहारको निन्दा गरेका छन् ।

आज पोखरेलले प्रेस वक्तब्य जारी गर्दै वडाध्यक्ष पनेरुलाई आगामी दिनमा यस्ता प्रवृत्ति नदोहोर्याउन र जनताप्रति जवाफदेही बन्न सचेत गराएका छन् ।

नेपाल सरकारले ६२ देखि ६४ वर्ष उमेरका ज्येष्ठ नागरिकहरुलाई खोप लगाउने मापदण्ड बनाए तापनि पनेरुले आफ्ना निकटका व्यक्तिलाई बोलाई बोलाई खोप लगाएको आरोप छ ।

यसरी अनियमित तरिकाले खोप लगाएको देखेर निष्पक्ष बन्न अनुरोध गर्दा नेकपा एमालेको मेचीनगर वडा नं. ९ का अध्यक्ष कमलमणि पौडेललाई वडाध्यक्ष पनेरुले अपशब्द प्रयोग गरेको वक्तब्यमा उल्लेख छ ।

यसअघि यही विषयमा एमालेको वडा नं. ९ र १० का पार्टी अध्यक्षहरुले प्रेस विज्ञप्ति प्रकाशित गरी पनेरुलाई माफी माग्न आग्रह गरिसकेका छन् । तर वडाध्यक्ष पनेरुले एमालेको आग्रहलाई वेवास्ता गरिरहेका छन् ।