संघ \संस्था स्वास्थ्य

तीन महिने ‘सामुदायिक स्वास्थ्य कार्यकर्ता’ तालिम सम्पन्न

मेचीनगर, असार १० । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ५ को आयोजनामा सञ्चालित तीन महिने ‘सामुदायिक स्वास्थ्य कार्यकर्ता’ तालिम सम्पन्न भएको छ ।

महेशपुरस्थित मोर्डन पब्लिक हस्पिटल प्रालिको प्राविधिक सहयोगमा गत फागुन १८ गतेबाट सञ्चालित तालिम बुधबार एक संक्षिप्त कार्यक्रमका बिच समापन गरिएको छ । यश अघि नै समापन हुने कार्यक्रम कोरोनाले सरेको हो ।

स्थानीय बालकल्याण मावि परिसरमा सञ्चालित उक्त तीन महिने तालिममा वडाका २४ वटा टोल विकास संस्था अन्तर्गत ३० जना महिलाहरुले प्रशिक्षण लिएका मेचीनगर–५ की वडा सदस्य दुर्गादेवि आचार्य देवकोटाले जानकारी दिइन् ।

‘सामुदायिक स्वास्थ्य कार्यकर्ता’ तालिमले आफुहरूलाई समुदायमा प्राथमिक स्वास्थ्य सेवा प्रवाह गर्न सक्ने बनाएको सहभागी प्रशिक्षार्थीहरूले बताए ।

तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई मोर्डन पब्लिक हस्पिटल प्रालिकि हेल्थ असिस्टेन्ट ममता मेचेलगायतले सहजीकरण गरेका थिए ।

वडाका प्रत्येक टोलमा स्वास्थ्य कार्यकर्ताबाट सेवा प्रवाह गराउने उद्देश्यले उक्त तालिम सञ्चालन गरिएको मेचीनगर–५ का वडाध्यक्ष योगेन थापामगरले जानकारी दिए ।