विविध

विर्तामोडको फोहोरमैला निराकार कम्पनीले नगरपालिकाको मुल गेटमै गाडिदियो

झापा, साउन ३२। झापाको विर्तामोड नगरपालिकाले नगर क्षेत्रकाे फोहोरमैला आफ्नै प्रशासनिक भवन परिसरमा गाड्ने गरेको पाइएको छ ।

नगरक्षेत्रको फोहोरमैला व्यवस्थापन गर्न सकस परेको भन्दै विवादका बाबजुद पनि नगरपालिकाले तीन वर्षका लागि फोहोरमैला व्यवस्थापनको जिम्मा काठमाडौंको निजी कम्पनी निराकार कम्पनीलाई दिएको थियो । तर, निजी कम्पनी निराकारले नगरपालिकालाई नै डम्पिङ साइड बनाई दिएको छ ।

जेठ ३१ गते नगरपालिका र कम्पनी बिच फोहोर व्यवस्थापन सम्बन्धि सम्झौता भएको थियो । साथै कम्पनीले १० लाख रूपैयाँ धरौटी समेत नगरलाई बुझाएको थियो ।

असार १ गतेदेखि आफ्नो कार्य सुरू गरेको कम्पनीले फोहोर व्यवस्थापन वापत नगर क्षेत्रमा सरसफाई सेवा शुल्क समेत उठाउने गरेको छ ।

कम्पनीले नगरभित्र रहेका घर, पसल, होटल, ब्यावसायिक फर्म, अस्पताल, विद्यालय कारखानालगायतबाट मासिक न्यूनतम १ सयदेखि बढीमा अवस्था हेरी २ हजार रुपैयाँसम्म शुल्क लिने र फोहोरमैला हप्तामा कम्तीमा ३ पटक उठाउनु पर्ने सम्झौता भएको छ । 

तर, निजी कम्पनीले नगर क्षेत्रकाे फोहोरमैला नगरपालिकाको कार्यालय परिसर, खोला नाला, सार्वजनिक स्थल, डोमालाल राजवंशी रंगशालालगायतमा फ्याक्दा आफुहरूलाई समस्या हुने गरेको स्थानीय नगरबासीले गुनासो गरेका छन् ।

साथै उनिहरूले स्थानीय सरकार आफ्ना नागरिक प्रति उत्तरदायी नबनेको भन्दै आक्रोश समेत पोखेका छन् ।

यता निराकार कम्पनीले भने आफुहरूलाई नगरपालिकाले व्यवस्थित डम्पिङ साइडको व्यवस्था नगरिएको कारण फोहोरमैला व्यवस्थापनमा समस्या भएको जनाएको छ ।

त्यस्तै नगरपालिकाले विकास निर्माणका काम भन्दापनि नगरको फोहोरमैला व्यवस्थापन गर्न कठिन भएको स्विकार्दै डम्पिङ साइड बनाउन समस्या रहेको जनाएको छ ।