विविध

अविरल बर्षा: झापामा १८ परिवार विस्थापित करिब २ सय नागरिकलाई सुरक्षित स्थानमा सारियो

झापा । लगातारको बर्षाले झापामा १८ परिवार विस्थापित भएका छन् । जिल्लाकोे गौरीगञ्ज गाउँपालिका वडा नं १ स्थित टप्पु बस्तीका १८ परिवार विस्थापीत भएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जानकारी दिनुभयो ।

प्रजिअ तिमल्सिनाका अनुसार लगातारको बर्षाले टप्पु गाउँ नै डुबानमा परेको छ । २ देखि ३ फिट सम्म पानी जमेको छ । गाउँ नै डुबानमा परेपछि उक्त गाउँका ७५ जनालाई नजिकैको रेडक्रश भवनमा सारिएको पनि उहाँले जानकारी दिनुभयो ।

यस्तै लगातारको बर्षाकै कारण गौरीगञ्ज गाउँपालिका वडा नं १ कै होक्लाबारी भन्ने स्थानका ८५ घर उच्च जोखिममा परेका छन् । जोखिममा परेका ८५ घरपरिवारमध्ये २० घरका करिब १ सय जनालाई नजिकैको चर्चमा सारिएको उहाँले जानकारी दिनुभयो ।

प्रजिअ तिमल्सिनाका अनुसार त्यहाँ भइरहेको बर्षा अर्झै रोकिएको छैन । बर्षा जारी रहेकाले उच्च जोखिममा रहेको अन्य परिवारलाई पनि जुनसुकै अवस्थामा सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था छ ।

“निरन्तरको बर्षा जारी रहेकाले जुनसुकै बेला त्यहाँ रहेका अन्य परिवारलाई उद्धार गर्नुपर्ने अवस्था हुन सक्छ ।” प्रजिअ तिमल्सिनाले रेडियो साथीसगँ भन्नुभयो “उद्धारका लागि हाम्रो प्रहरी प्रशासन तयारी अवस्थामा छ, साथै त्यहाँ रहेका मानिसहरुसगँ पनि सम्पर्क भइरहेको छ । जसअन्तर्गत हामी पुर्ण तयारीमा छौँ ।”

यस्तै उद्धारका लागि गाउँपालिकामा रबरबोर्ट तयारी अवस्थामा राखिएको पनि उहाँले जानकारी दिनुभयो ।
उता गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले पनि बर्षा जारी रहेकाले त्यहाँका सबै नागरिकसगँ आवयश्यक सम्पर्क भइरहेको बताउनुभयो । वडा नं १ को भालुबारी, होक्लाबारी र टप्पु क्षेत्रमा लगातारको बर्षाले ठुलो क्षती भएको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो “लगातारको बर्षाले धानबालीमा पनि ठुलो क्षती गरेको छ, वडा नं १ का १८ परिवार विस्थापीत भइसकेका छन् । अन्य परिवार पनि जोखिममा रहेकाले शसस्त्र प्रहरी सहित नेपाल प्रहरी सुरक्षाका लागि तयारी अवस्थामा छन् ।”