
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले करिब १२ हजार शाखा अधिकृतको समायोजन गरेको छ।
संघ, प्रदेश र स्थानीय तहमा करिब १२ हजार शाखा अधिकृत समायोजन गरिएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए। उनका अनुसार प्रशासन, लेखा, राजस्व र शिक्षा सेवाको शाखा अधिकृतलाई समायोजन गरिएको छ।
सरकारले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गरेको हो।
यसअघि मन्त्रालयले सचिव, सहसचिव र उपसचिवलाई संघ, प्रदेश र स्थानीय तहमा समायोजन गरेको थियो। ६६२ सहसचिवमध्ये संघमा ५६० र प्रदेशमा १०२ तथा उपसचिवमध्ये संघमा ८३६, प्रदेशमा आठ र स्थानीय तहमा चारको समायोजन गरेको थियो।
मन्त्रालयले यही फागुन ३ गते समायोजन रोजेका सबै कर्मचारीको समायोजन गर्ने भने ता पनि प्राविधिक कारण त्यो हुन नसकेको हो। प्रवक्ता अधिकारीका अनुसार कृषि, वन, स्वास्थ्य र इञ्जिनियर सेवाको शाखा अधिकृतको समायोजन गर्न भने बाँकी छ।
सरकारले तीनै तहमा समायोजनका लागि गत पुस ११ गतेदेखि यही माघ २ गतेसम्म अनलाइन फाराम भर्ने समयसीमा तोकेको थियो।

