काठमाडौं । नेपालले मौरिससविरुद्धको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा १–० को जित निकालेको छ । एक दशकभन्दा बढी समयपछि नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जित हात पारेको हो ।
राष्ट्रिय टिममा पुर्नआगमन गरिरहेका विमल घर्तीमगरको निर्णायक गोलसँगै नेपाल विजयी बनेको हो । नेपाल दशरथ रंगशालामा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा विजयी रहेको यो पहिलो पल्ट हो ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पनि दशरथ रंगशालामा जित आत्मसात् गरेको यो पहिलो पल्ट हो । नेपालले सन् २०११ देखि कुनै पनि मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा जित निकाल्न सकेको थिएन् । यस जितपछि नेपालको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा लगातार २३ खेलको जितहीन यात्रामा पूर्ण विराम लगाएको छ ।
विमलले ५५ औं मिनेटमा गोल गरेका हुन् र यो उनको व्यक्तिगत नवौं गोल हो । प्रतिबन्ध र चोटका कारण तीन वर्ष राष्ट्रिय टिमबाट बाहिर रहेका विमल आज नायक सावित भए।

