अर्थ

झापाको एउटा सिंगो गाँउ नै मुँडा बुनेर मनग्गे आम्दानी गर्दै

झापा । गल्तीबाट पाठ सिक्दै सतकर्ममा लाग्ने होभने सिंगो गाउँलेको नै भलाई हुने कार्य गर्न सकिन्छ । यसको ज्वलन्त उदाहरण बनेका छन् झापाको मेचीनगर र अर्जुनधारा नगरपालिकाको सिमानामा पर्ने कालिझोडाका तिलकबहादुर सार्की ।

२०३२ सालमा साथीहरुको लहिलहिमा लागेर अवैध रुपमा भैसीको छाला भारत पुर्याउने क्रममा नेपाल प्रहरीको पन्दामा परेर दुई महिना जेल बसेका तिलकबहादुर र उनका साथीहरुले सोहि क्रममा मुँडा बनाउन सिके ।

जेलमा सिकेको सिपलाई गाँउमा आएर मुँडा बुन्ने काममा लागे । गाँउमा नै पहिलो पल्ट मुँडा बुन्ने कामको सुरुवात गरेका तिलकबहादुरले आफुले जानेको सिप अरुलाई समेत सिकाउन भ्याए । जसको कारण अहिले सिंगो गाउँका मानिसहरु नै मुँडा बुनेर मनग्गे आम्दानी गरिरहेका छन् ।

मेचीनगर १२ र अर्जुनधारा नगरपालिका १० को सिमानामा पर्ने कालिझोडा हाल मुँडा बस्तीका नामले परिचित बनिसकेको छ । यँहाका अधिकांस मानिस अहिले मुँडा बुन्ने काममा व्यस्त छन् । उनीहरुले मुँडा बुनेर नै दैनिक ५ सयदेखि ८ सय सम्म कमाई गरिरहेको बताउँछन् । गाँउमा व्यवसायीक रुपमै दुईदर्जनबढी मुँडा बुन्ने फर्म दर्ता गरी सञ्चालनमा छन् ।

काम पाईएन बेरोजगारी भईयो भनेर कोहि पनि मानिसहरु गाँउमा बेरोजगार बस्नुपर्ने अवस्था नरहेको स्थानीय मुँडा व्यवसायी लक्ष्मी आछामी बताउछिन् । गाँउका १० जनालाई प्रत्यक्ष रोजगारी दिईरहेकी लक्ष्मीले मुँडा व्यवसायबाट आफ्नो परिवार चलाउदै आएको बताईन् ।

दिनभर बसेर समय बिताउनु भन्दा आय स्रोत पनि हुने र समय पनि सदुपयोग हुने भएका कारण आफुहरू यस तर्फ आकर्षित भएको मुँडाबस्तीका बासिन्दा बताँउछन् ।

त्यस्तै आफ्नै घरमा मुँडा बुन्ने व्यवसाय सञ्चालन गर्दै आएका सोहि ठाँउका अर्का मुँडा व्यवसायी अनिल राई पनि अफ्नो व्यवसायबाट सन्तुष्ट नै रहेको बताउछन् । थोरै लगानीबाट सुरु गरेको आफ्नो व्यवसायमा पनि केहि स्थानीयलाई रोजगारी दिन सकेके उनी बताउछन् । तर, राज्यले स्थानीय स्तरबाट सञ्चालन हुने यस्ता व्यवसायलाई प्रोत्साहन गर्नु पर्नेमा अहिलेसम्म पनि कहि कतैबाट कुनै सहयोग नपाएकोमा दुःख व्यक्त गरे ।

यसरी सिंगो गाँउ नै मुँडा बुन्ने काममा संलग्न भई आफ्नै ठाँयमा स्वरोजगार बनिरहदा राज्यको तर्फबाट पनि आवश्यक समन्वय गरिदिए उनीहरुलाई थप टेवा पुग्ने थियो की ? यस तर्फपनि सम्बन्धित निकायको ध्यान जाओस् ।