झापा । झापाको मेचीनगर नगरपालिकामा एक सय विपन्न चिया मजदुरलाई सुधारिएको चुल्हो निःशुल्क वितरण गरिएको छ । मेचीनगर ८ वडा कार्यालयको पहल तथा इपिसीको आर्थिक सहयोगमा वडामा रहेका विपन्न चिया मजदुर परिवारलाई शनिबार सुधारिएको चुल्हो (टियर थ्री चुल्हो) वितरण गरिएको हो।
विपन्न मजदुर बस्तीका सर्वसाधारणको स्वास्थ्यको ख्याल गर्दै सुधारिएको चुल्हो वितरण गरिएको मेचीनगर –८ का वडाध्यक्ष विकेन्द्र धिमालले जानकारी दिए । “आर्थिक रुपमा विपन्न चिया मजदुर परिवारलाई विशेष प्राथमिकतामा राखेर सुधारिएको चुल्हो वितरण गरेका हौं,” अध्यक्ष धिमालले भने, “सुधारिएको चुलोेको प्रयोगले उनीहरुको दैनिकीमा सहयोग पुग्नेछ ।”

वडा सदस्य सन्तोष मेचेले चिया मजदुर परिवारको घरभित्र धुवाँमुक्त गर्न साथै स्वास्थ्यस्तर सुधार गर्न सुधारिएको चुल्हो वितरण गरिएको बताए । उनका अनुसार १ थानको ६ हजार मूल्य पर्ने सुधारिएको चुल्हो पहिलो चरणमा मेचीनगर–८ का चिया मजदुलाई वितरण गरेका र एक साता पछि मेचीनगरका १ देखि १५ वटै वडाका विपन्न १६८० घर परिवारलाई सुधारिएको चुल्हो निःशुल्क वितरण गरिने जनाए ।
सुधारिएको चुल्हो प्रयोग गर्न कम दाउरा लाग्ने भएकोले आफुहरुलाई भान्सामा खाना पकाउँदा सहज हुने स्थानीय मजदुर बताउछन् । परम्परागत चुलो प्रयोग गर्दा बढी धुवाँ आउने भएकोले आँखा दुख्ने, खोकी लाग्ने, छाती दुख्ने जस्ता समस्या हुने गरेकोमा अब सुधारिएको चुलोको प्रयोगले धुवाँको समस्याबाट मुक्ति मिल्न उनीहरु बताउछन् ।
चुल्हो वितरण कार्यक्रममा मेचीनगर–८ का वडाध्यक्ष विकेन्द्र धिमाल, वडासदस्यहरु सन्तोष मेचे, गंगा पाठक, विभिन्न राजनैतिक दलका प्रतिनिधि, सामाजिक संघसंस्थाका अगुवालगायतको उपस्थिती रहेको थियो ।

