झापा । बिएण्डसी अस्पताल र पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोडका सञ्चालक दुर्गा प्रसाईँले सुनको लौरो उपहार भपाएको बारेमा अहिले सर्वत्र चर्चाको विषय बनेको छ ।
दुबईका राजकुमार शेख मोहम्मद जुमा अल मोक्तुमले मेडिकल व्यवसायी तथा नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईँलाई उपहार दिएको लौरो सुनको सक्कली वा नक्कली हो भन्ने अहिले सर्वत्र चासोको विषय बनेको हो । सुनको लौरो कसरी त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट छिरियो ? त्यसको जाँच भयो कि भएन भन्ने सबैको मनमा पक्कै प्रश्न उब्जिएको होला ? तर, यथार्थ भने फरक रहेको पाइरहेको छ । राजकुमार मोक्तुमले प्रसाईँलाई शुक्रबार झापास्थित चन्द्रगढी विमानस्थलमा सुनको जस्तै देखिने धातुको लौरो उपहार दिएका थिए। उपहारमा पहेँलो लौरो प्राप्त भएपछि उक्त लौरो सुनको भएको अनुमान गरिएको थियो ।
यस बारेमा अधिकांश मिडियाले सुनको लौरो उपचार भएको भनी समाचारको हेडलाइन नै बनाए । लौरो प्राप्त भएपछि यस विषयमा बुझ्दा उक्त उपहार सुनको नभएको जानकारी प्राप्त भएको अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले बताए। ‘‘स्वागत गर्न जाँदा सुनको जस्तै देखिने लौरो उपहारमा प्राप्त भएको थियो, हामीले सोध्ने कुरा पनि भएन,” उनले भने, ‘‘पछि त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयमा बुझ्दा सुनको जलप लगाइएको लौरो भएको जानकारी प्राप्त भएको छ।”

