काठमाडौं । प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते एकैचरणमा हुने भएको छ । बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले आउँदो निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको हो ।
यसअघि निर्वाचन आयोगले ४ मंसिरमा एकै चरणमा निर्वाचनको मिति तोक्न सरकारलाई सिफारिस गरेको थियो । सोहीअनुसार बिहीबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
यसअघि बसेको सत्तारुढ गठबन्धनको बैठकले पनि प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने नै निर्णय गरेको थियो ।प्रतिनिधिसभाअन्तर्गत एक सय ६५ र प्रदेशसभाअन्तर्गत तीन सय ३० निर्वाचन क्षेत्रमा निर्वाचन हुने भएको छ ।
आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालका अनुसार देशका ७७ जिल्लाका निर्वाचन कार्यालय, ७७ वटै जिल्ला प्रशासन कार्यालय र ७३ इलाका प्रशासन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता भइरहेको छ भने निर्वाचन घोषणा भइसकेका कारण अब शुक्रबारबाट सो कार्य रोकिनेछ ।

