झापा श्रावण २२ । नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ झापाको आयोजनामा २५ औं आदिवासी दिवसको सन्दर्भमा “समानुपातिक समावेशीताको सवाल र आरक्षण व्यवस्था विषयक अन्तरक्रिया” कार्यक्रम सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् झापाका अध्यक्ष भरत कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा महासंघका पूर्व अध्यक्ष प्रेम घिसिङ, महासंघ झापा उपाध्यक्ष पाण्डवलाल चौधरी, सचिव विरेन मेचे, नेपाल तामाङ घेदुङका प्रादेशिक सचिवालय सदस्य पदम बहादुर तामाङ, अनेरास्ववियु झापाका अध्यक्ष मनोज ताम्ली, अखिल (क्रान्तिकारी) झापा अध्यक्ष अनिल सुवेदी, नेविसंघ प्रतिनिधी तथा भुजेल समाज विद्यार्थी संघका पूर्व उपाध्यक्ष याम भुजेल, नेपाल तामाङ विद्यार्थी घेदुङकी झापा सचिव प्रकृति घिसिङ, महासंघ कनकाई नगर सचिव लक्ष्मण श्रेष्ठ, अनेरास्ववियु सदस्य लम्क्षी गौली लगायतले समानुपातिक समावेशी सिद्घान्त तथा आरक्षणको व्यवस्था विषयमा आफ्नो धारणा राखेका थिए ।

वक्ताहरुले लोकसेवा आयोगले स्थानीय तहको विज्ञापनमा गर्दा संविधानको अवहेलना गरी निकालिएको बताएका छन् । महासंघ झापाका अध्यक्ष भरत कुमार श्रेष्ठले निजामती सेवा ऐन, २०४९ को दोस्रो संसोधनमार्फत समावेशी तर्फ ४५ प्रतिशत लाई सत प्रतिशत मानी छ वटा क्लस्टरमा विज्ञापन निकाल्नुपर्नेमा त्यसको विपरित आयोगले ऐनको खिल्ली उडाएको बताएका छन् । ऐनमा आरक्षणको प्रष्ट व्यवस्था हुँदा हुँदै पनि नश्लिय सोच हाबी हुँदा यस्तो परिणाम आएकाले अब आन्दोलनको विकल्प नभएको अर्का आदिवासी नेता प्रेम घिसिङले बताए ।
अनेरास्ववियु झापा अध्यक्ष मनोज ताम्लीले आरक्षणबारे भ्रम फैलिदा आरक्षण विरोधी तत्व हाबी भएकाले क्याम्पसक्याम्पसमा गई युवा तथा विद्यार्थीहरुलाई सचेत गराइ आन्दोलन अघि बढाउनुपर्नेमा जोड दिए । अखिल क्रान्तिकारी झापाका अध्यक्ष अनिल सुवेदीले आरक्षणबारे स्थानीय तहका नेता तथा सासंदको धारणा राख्न लगाउनुपर्ने र संयुक्त आन्दोलन मार्फत् फेरी यस्तो गल्ती नदोहोर्याउन दबाब दिनुपर्ने बताए ।
विद्यार्थी महासंघ झापाका अध्यक्ष हैकम घिसिङले आरक्षण पक्षधरहरुको संयुक्त आन्दोलन समिति निर्माण गरी युवा, विद्यार्थीहरुलाई समानुपातिक समावेशी सिद्घान्तबारे जागरण अभियान सञ्चालन गर्ने बताउँदै केन्द्रबाट घोषित कार्यक्रमलाई सफल बनाउन आरक्षण पक्षधर सम्पूर्णलाई आन्दोलनमा जोडिन आह्वान गरे ।
कार्यक्रम विद्यार्थी महासंघ झापाका अध्यक्ष हैकम घिसिङको अध्यक्षता र सचिव सागर योङहाङ लिम्बुको सञ्चालनमा भएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य सहसचिव सुजन रानाले राखेका थिए ।

