बिर्तामोड । चिया र अलैंची जस्तै कुचोलाई पनि निर्यातजन्य कृषिवस्तुको रुपमा मान्यता दिन माग गरिएको छ ।
काठमाडौं आज नेपाल कुचो संघको प्रथम साधारण तथा प्रथम अधिवेशनको अवसरमा त्यस्तो माग गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बढ्दो वैदेशिक व्यापार घाटालाई कृषिजन्य वस्तुको निर्यातले प्रतिस्थापन गर्ने बताउनुभयो । उहाँले कृषिजन्य वस्तुको निर्यात प्रबद्र्धन र बजारीकरणमा सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै, कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठ, व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणा, पूर्व उपाध्यक्ष उमेशलाल प्रधान, गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख दीपकुमार रिसाल, इलाम नगरपालिकाका नगरप्रमुख केदार थापा लगायतका अधिकांश वक्तले कृषिजन्य वस्तुको निर्यात प्रबद्र्धनमा सरकारले जाने दिनुपर्ने धारणा राखेका थिए ।
संघका अध्यक्ष राजकुमार कार्कीले अलैंची र चिया जस्तै कुचोलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले अन्य निर्यातजन्य वस्तुजस्तै कुचोलाई प्राथमिकता दिएर बजेट दिनुपर्छ ।”

कार्यक्रममा एभीन्यूज टेलिभिजनका झापा सम्पाददता र साझा अनलाइन खबर अनलाइनका सम्पादक पत्रकार सन्तोष न्यौपाने, अलैंची तथा कुचो संरक्षक राजेन्द्र घिमिरे, उत्कृष्ठ निर्यातकर्ता सञ्जीव शाह, कुचो व्यवसायी लक्ष्मण ढुंगेल, व्यवसायी रामप्रसाद बोलखे, रघुनाथ कट्टेललाई सम्मान गरेको छ ।
संघका अध्यक्ष राजकुमार कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संघकी सदस्य सुस्मा पौडेलले गर्नुभएको थियो ।

