मेचीनगर । लोकतान्त्रिक बाम गठबन्धन झापा क्षेत्र नं १ ले आइतबार मेचीनगर–१५ का विभिन्न टोल तथा बस्तीहरुमा घरदैलो अभियान सञ्चालन गरेको छ । मेचीनगर–१५ को किसन कामत, हेल्दुबारी, वंशल टी स्टेट, कालिका टी स्टेट, पाहान बस्ती, फाँडानी बस्तीमा घरदैलो अभियान चलाइएको हो ।
प्रदेश ‘क’ का उम्मेद्वार गोपाल तामाङसहितको टोलीले घरघरमा पुगेर आफ्नो पक्षमा मत मागेका छन् । स्थानीय मतदाताले यसपाली गठबन्धनका उम्मेद्वारलाई भोट हालेर जिताउने आश्वासन दिएका छन् ।

घरदैलो कार्यक्रममा उम्मेद्वार तामाङले जितेर गएपछि आफ्नो क्षेत्रको विकासलाई प्राथमिकतामा राख्ने बताएका छन् । कार्यक्रममा काँग्रेसका महाधिवेशन प्रतिनिधि ताराविर कटुवाल, दुर्गा खतिवडा, प्रदेश प्रतिनिधि दिलीप सुवेदी, वडा नं १५ का सभापति वृशलाल राजवंशी लगायतका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।
यसैबीच, गठबन्धनका उम्मेद्वारले छठ पर्वको शुभकामना व्यक्त गरेका छन् । झापा क्षेत्र नं १ का उम्मेद्वार विश्वप्रकाश शर्मा, प्रदेश ‘क’ का उम्मेद्वार गोपाल तामाङ, ‘ख’ का उम्मेद्वार श्यामविर लिम्बूलगायत समानुपातिक उम्मेद्वारले नदीको घाटमै पुगेर नेपालीको साझा पर्व छठको शुभकामना दिएका हुन् । उम्मेद्वारले आइतबार साँझ मेची नदी, निन्दा खोला, टिमाई खोला, फुलवासा खोलामा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ दिएर पूजापाठसमेत गरेका छन् ।

