धर्म संस्कृती

सम्बन्ध विच्छेदले छेकेन पूर्वपतिको काजकिरिया

मेचीनगर । मेचीनगर नगरपालिका वडा नं. ७ की सीता खड्काले सम्बन्ध बिच्छेद गरेका पतिको मृत्युसंस्कार (काजकिरिया) गरेर पति–पत्नीको सम्बन्ध कागजले टुटाउन नसक्ने सन्देश दिनुभएको छ ।

उहाँका पति भानुभक्त बस्नेतको ४८ वर्षको अल्पायुमै वैदेशिक रोजगारीको क्रममा संयुक्त अरब इमिरेट्सको दुबईमा गत असोज ८ गते मृत्यु भएको थियो । गत असोज २९ गते बस्नेतको शब मेचीनगर–१४ दुहागढीस्थित साइला भाइको घरमा आइपुगेको थियो । सोही दिन कनकाई आर्यघाटमा उहाँको दाहसंस्कार भएको थियो ।

पूर्वपतिलाई अन्तिम श्रद्धाञ्जलि दिन सात वर्षीय छोरा प्रतिश बस्नेत र सोह्र वर्षीया छोरी जेनिशा बस्नेतलाई साथमा लिएर खड्का आर्यघाटमा जानुभयो । त्यसपछि उहाँ छोराछोरीसँगै मेचीनगर–७ इटाभट्टास्थित आफ्नै निवासमा १३ दिने काजकिरिया बारेर बस्नुभयो ।

दुई दिन अघि १३ दिने काजकिरिया पूरा गर्नुभएकी खड्काले कागजी सम्बन्ध बिच्छेदले पतिप्रतिको माया र श्रद्धा कहिल्यै नघटेको बताउनुभयो । उहाँले आफु सम्बन्ध बिच्छेदको पक्षमा कहिल्यै नरहेको तर पतिकै जोडबलमा सम्बन्ध बिच्छेदको कागजमा सहीछाप गरिदिएको जानकारी दिनुभयो ।

एक वर्ष अघि सम्बन्ध बिच्छेद गरेपश्चात बस्नेतले दोस्रो बिवाह गरे तापनि दोस्री पत्नीले केही महिनामै छाडेर हिँडेकी थिइन् । “मदिराको कुलतमा लागेर उहाँले मलाई कुटपिट गर्नुहुन्थ्यो, तैपनि म कहिल्यै सम्बन्ध बिच्छेदको पक्षमा थिइन,” खड्काले भन्नुभयो–“कान्छीले पनि केही महिनामै छाडेर हिँडेपछि उहाँ मेरो माइती घरमा बारम्बार आइरहनु हुन्थ्यो । मैले उहाँलाई सुध्रिएर आउनुहोस्, सँगै बसौंला भन्ने गरेको थिएँ ।”

यसैबीच वैदेशिक रोजगारीका लागि बस्नेत दुबई जानुभयो । असोज ८ गते उहाँले आत्महत्या गरेको दुःखद् खबर आएको थियो । पूर्वपति बस्नेतको मृत्यु भएपछि खड्काले आफुले पालनपोषण गर्दै आएका छोराछोरीसँगै साइला देबरको घरमा बसेर काजकिरिया बार्ने सोच बनाए तापनि देबर, देउरानी र नन्दहरुले दिएनन् ।

“झगडा हुने भएपछि आफन्तहरुको सल्लाह बमोजिम म, छोरा र छोरीले अलग्गै किरिया बार्ने काम गर्यौं, साइला देवरले अलग्गै बार्नुभयो,” खड्काले भन्नुभयो–“ऐले डिभोर्स दे, भरे डिभोर्स दे भनेर हैरान पारेपछि मैले दिक्क भएर उहाँ (पूर्वपति)ले ल्याएको कागजमा सहीछाप गरेकी हुँ । मेरो मनभित्र श्रीमानप्रति पहिले जत्तिकै आस्था, श्रद्धा र माया थियो ।”

उनीहरुको छोरा प्रतिश कक्षा २ मा र छोरी जेनिशा कक्षा १० मा पढिरहेका छन् । सम्बन्ध बिच्छेदपश्चात छोराछोरीको लालनपालन खड्का (आमा)ले नै गरिरहनु भएको छ । पूर्वपतिको १३ दिने काजकिरिया हिन्दू धार्मिक विधि र परम्परा बमोजिम गर्नु भएकी खड्कालाई आफन्त र छरछिमेकीले धन्यवाद दिने गरेका छन् ।