काठमाण्डौं, अषाढ १९ । पेरु कोपा अमेरिका फुटबलको फाईनलमा प्रवेश गरेको छ । बिहिबार बिहान भएको अन्तिम सेमीफाईनल खेलमा चिलीलाई ३–० गोल अन्तरले पराजित गर्दै पेरु प्रतियोगिताको फाईनलमा प्रवेश गरेको हो ।
यसअघिका दुई संस्करणमा उपाधि आफ्नो कब्जामा पार्न सफल चिली यो संस्करणमा पनि उपाधि दाबेदारको रुपमा हेरिएको थियो । तर, पेरु संग पराजित भएसँगै चिलीको यो सिजनको यात्रा कोपामा सकिएको छ ।
पेरुको तर्फबाट खेलको २१ औ मिनेटमा एडिन फ्लोरेसले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ३८ औ मिनेटमा योशिमार यतुनले अग्रतालाई दोब्बर बनाए ।
खेलको अन्तिम मिनेटमा जोस पाओलो गुरेरोले गोल गर्दै टिमको जित सुनिश्चित गरे । उनले पेनाल्टीमा गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए ।
पेरुले उपाधिका लागि सोमबार घरेलु टोली ब्राजिलसंग प्रतिस्पर्धा गर्नेछ ।

