झापा, अषाढ १९ । ११ औं झापा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आउँदो शनिबारदेखि सुरु हुने भएको छ ।
राष्ट्रिय खेलकूद परिषद्ले प्रतियोगिता बारे बुधबार साँझ दिएको निर्देशन अनुसार जिल्ला खेलकूद विकास समितिको बिहीबार बसेको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो ।
समितिको ३२ औं बैठकले तयारीको छोटो अवधि र प्रतिकूल परिस्थितिकाबीच पनि शनिबारदेखि सोमबारसम्ममा प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्ने सर्वसम्मत निर्णय गरेको समितिका कार्यालय प्रमुख टहलदाश मैनालीले जानकारी दिए ।

समितिका अध्यक्ष शंकर थापाको अध्यक्षतामा बसेको बैठकको निर्णय अनुसार भद्रपुरस्थित मेची रंगशालामा हुने ६ वटा विधाका खेलहरु सञ्चालनका लागि आवश्यक तयारी तीव्र रुपमा अघि बढाइएको छ ।
स्थानीय तहस्तरीय छनौट प्रतियोगितामा प्रथम स्थान हाँसिल गर्ने खेलाडी र टिमले जिल्लास्तरीय प्रतियोगितामा एथ्लेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु खेलमा प्रतिष्पर्धा गर्नेछन् ।
बैठकमा समितिका सदस्य पूर्णकुमार सिटौला, हरिमाया मैनाली, ज्ञानेन्द्र राई, करातेका वरिष्ठ प्रशिक्षक कालु मेचे, एथ्लेटिक्सका पूर्व वरिष्ठ प्रशिक्षक लोकप्रसाद ओली, सितोरियो कराते जिल्ला प्राविधिक कमिटी अध्यक्ष कृष्ण बस्नेत, राष्ट्रिय खेलकूद परिषद् कर्मचारी संघका केन्द्रीय सदस्य हरि भूजेल, मेची रंगशाला निर्माण तथा उपभोक्ता समिति अध्यक्ष गंगाबहादूर खड्कालगायतले विचार राखेका थिए ।

समितिका कोषाध्यक्ष धर्मराज शिवाकोटीका अनुसार राखेपले प्रत्येक वर्ष आयोजना गर्दै आएको उक्त प्रतियोगितामा सामुदायिक तथा संस्थागत विद्यालयका मावि तहसम्म अध्ययन गर्ने १८ वर्षमुनीका विद्यार्थीहरुले भाग लिँदै आएका छन् ।
जिल्लास्तरीय प्रतियोगिताको तयारी बारे छलफल गर्न आयोजित बैठकमा जिल्ला खेलकूद विकास समितिमा कार्यरत् राखेपका विभिन्न खेल विधाका सहायक प्रशिक्षकको उपस्थिति थियो ।
बैठकले आसन्न तीन दिवशीय प्रतियोगितामा समावेश भएका खेलहरु सञ्चालनका लागि निर्णायक समिति र विभिन्न उपसमिति गठन गरी जिम्मेवारी समेत तोकेको छ । बैठकले कबड्डीको २० सदस्यीय निर्णायक समितिको संयोजकमा रतिया राजवंशी, उसुको १३ सदस्यीय समितिमा रविन श्रेष्ठ, करातेको २५ सदस्यीय समितिमा कालु मेचेलाई संयोजक तोकेको छ ।
त्यस्तै, तेक्वान्दोको १५ सदस्यीय समितिमा प्रदीप श्रेष्ठ, एथ्लेटिक्सको २५ सदस्यीय समितिमा गोपाल यादव र भलिबलको १२ सदस्यीय समितिको संयोजकमा हेमा थापालाई संयोजकको जिम्मेवारी दिइएको छ ।
प्रतियोगितालाई सभ्य, भव्य र व्यवस्थित रुपमा सम्पन्न गर्न बैठकबाट गठित अनुशासन उपसमिति र मञ्च तथा समारोह व्यवस्थापन उपसमितिको संयोजकमा जिल्ला खेलकूद विकास समितिका अध्यक्ष थापा छन् भने प्राथमिक उपचार उपसमितिको संयोजकमा डम्बरबहादूर लिम्बू छन् ।
स्थानीय तहस्तरीय सो प्रतियोगिताबाट छनौट भएका छात्र तथा छात्रा खेलाडीले जिल्लास्तरीय प्रतियोगितामा भाग लिने र उक्त प्रतियोगितामा छानिएकाले प्रदेश हुँदै राष्ट्रिय प्रतियोगितामा प्रतिष्पर्धा गर्नेछन्

