मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले अब वनलाई हेर्ने दृष्ट्रिकोणमा परिवर्तन गर्न जरुरी रहेको बताएका छन् । प्राय सामुदायिक वन काठको उपयोग गर्ने क्षेत्र मात्रै भइरहेको बताउँदै उनले अब वनबाट काठको उपयोग मात्रै हैन त्यहाँबाट विविध प्रकृतिका हाम्रा आम्दानीका स्रोत खोज्न जरुरी रहेको बताए ।

मंगलबार कालिका सामुदायिक वन उपभोक्ता समूह मेचीनगर ११ र १२ को २७ औँ वार्षिक साधारणसभाको उद्घाटन शत्रमा बोल्दै प्रमुख अतिथि समेत रहेका नगरप्रमुख बुढाथोकीले रुख विरुवा मानिससंग मात्रै होइन पशुपंक्षीको जिवनसंग पनि प्रत्यक्ष जोडिएको छ । त्यसैले वनजंगलको संरक्षण गर्दै पर्यटकिय पार्क, जडिबुटी उत्पादनलगायत विभिन्न आम्दानीको स्रोतको अधिकतम् प्रयोग गर्न तर्फ सबैले जोड दिनुपर्ने बताए ।
साथै उनले कालिका सामुदायिक वनले सिमसार क्षेत्रको विकाससँगै आकर्षक पर्यटकीय संरचनाहरु निर्माण गरेर नगरमा फरक पहिचान स्थापित गरेको बताउँदै आफुले सकेको सहयोग गर्ने जनाए ।

साधारण सभामा कालिका सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष योगराज भट्टराई ‘योगेश’ अध्यक्षको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साथै उनले आर्थिक वर्ष २०७८र०७९ मा सम्पन्न गर्न बाँकी रहेका योजनाहरु यो वर्ष पुरा गरिने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा मेचीनगर नगरपालिका वडा नं ११ का वडाध्यक्ष रुद्र डाँगी, मेचीनगर नगरपालिका वडा नं १२ का वडाध्यक्ष मधुसुदन निरौला, मेचीनगर नगरपालिकाका कार्यपालिका सदस्य अमित खम्बू, माओवादी केन्द्र मेचीनगरका अध्यक्ष राजन चिमरियालगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।
समितिका अध्यक्ष योगराज भट्टराई ‘योगेश’ को अध्यक्षतामा आयोजना भएको साधारण सभामा उपाध्यक्ष संगीता चौधरीले स्वागत गरेका थिए भने, कार्यक्रमको सञ्चालन समितिका सहसचिव खेमराज राईले गरेका थिए ।

