शिक्षा

अरुणोदय माविको वार्षिकोत्सव शुभारम्भ

मेचीनगर । अरुणोदय आवासीय माध्यमिक विद्यालय मेचीनगर ६ को वार्षिकोत्सव कार्यक्रमको शुभारम्भ भएको छ । मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीले २ दिवसीय वार्षिोत्सवक कार्यक्रमको आज उद्घाटन गर्नु भएको हो ।

वहाँले शैक्षिक संस्थाहरू नाफामुखी नभई सेवामुखी भएर गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिनुभएको छ । कार्यक्रममा बोल्दै उपप्रमुख उप्रेतीले स्थानीय सरकार नगरभित्रको शैक्षिकस्तर सुधारकालागि कुनै पनि काम बाँकी नराख्ने स्पष्ट पार्नुभयो । हरेक विद्यार्थीको पहिलो पाठशाला उस्को आफ्नै घर र गुरू आफ्ना अभिभावक भएकाले उनीहरूलाई घरबाटै असल संस्कार सिकाउनु पर्नेमा उहाँको जोड थियो । अहिले निजी विद्यालयतर्फ अभिभावक र विद्यार्थीहरूको आकर्षक बढेकाले अब सामुदायिक विद्यालयहरू पनि शैक्षिकस्तर वृद्धि गर्नेतर्फ लाग्नुपर्ने उहाँले बताउनुभयो ।

बिहीबार  अरूणोदय आवासीय माध्यमिक विद्यालयको २७ ओैँ  वार्षिकोत्सव  तथा  खेलकुद कार्यक्रममा कक्षा नर्सरी देखि कक्षा ४ सम्मका विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रम गरी आफ्ना अभिभावक र अतिथिहरुलाई मनोरञ्जन गराएका थिए ।

कार्यक्रमको अवसरमा विद्यालयले आयोजना गरेको खेलकुदका विभिन्न विद्याका विजेताहरुलाई पदक तथा प्रमाण पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा कार्यपालिका सदस्य अन्जु थापा, वडा नम्बर ६ का सदस्य सीमा रसाइली, अरुणोदय आ.मा.वि. शिक्षक–अभिवाक संघका अध्यक्ष राजकुमार पराजुली, रोटरी क्लब अफ काँकरभिट्टाका अध्यक्ष सुजन प्रधान, प्रेस क्लब मेचीनगरका अध्यक्ष डम्बर बराल, मेरो मेचीनगर डटकमका सम्पादक लक्ष्मी उप्रेती, खबरमञ्च डटकमका सम्पादक प्रकाश पौंडेल, हाम्रो खबरपाटी डटकमका सम्पादक युवराज आचार्य, अरनिको मा.वि.का विद्यालय व्यवस्थाप समितिका अध्यक्ष निर्मलकुमार अधिकारी, नाइट चेस क्लब काँकरभिट्टाका अध्यक्ष राजु कार्कीको आतिथ्यता रहेको थियो ।

वार्षिकोत्सव कार्यक्रम भोलि कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरुको विविध साँस्कृतिक कार्यक्रम सहित पुरस्कार वितरण गरी समापन हुने विद्यालयका निर्देशक रीता थापाले जानकारी दिनु भयो ।

विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर लुइटेलले शैक्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भगरिथ राईले गर्नुभएको थियो भने वरिष्ठ शिक्षक पर्शुराम रिजालको स्वागत मन्तव्य रहेको थियो । कार्यक्रमको सञ्चालन  शिक्षकहरु वर्षा सुवेदी, नेहा रेग्मी, सुरक्षा ओली लगायत विद्यार्थीहरु समेतले गर्नुभएको थियो ।