खेलकुद

एनएसजेएफ झापाको निःशुल्क फोटो पत्रकारिता तालिम

झापा, श्रावण ७ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) झापाले दुई दिने फोटो पत्रकारिता तालिम आयोजनामा गर्ने भएको छ ।
श्रावण २५ र २६ गते बिर्तामोडमा आयोजना हुने सो तालिममा अग्रज फोटो पत्रकार तथा पिजे क्लबका अध्यक्ष विकास कार्की र अर्का अग्रज फोटो पत्रकार विजय गजमेरले प्रशिक्षकको रुपमा सहजीकरण गर्ने छन् । तालिममा सहभागी हुन एनएसजेएफ झापाको सदस्यता लिएको हुनुपर्ने अध्यक्ष रमेश समदर्शी राईले जानकारी दिए ।
यसैबीच, तालिम समापनको दिन एनएसजेएफ झापाको नयाँ कार्यसमिति समेत चयन गरिने भएको छ । झापामा एनएसजेएफ दस वर्षअघि गठन भएको थियो । मञ्चले विगत दुई वर्षयता स्पोर्टस् अवार्ड समेत गर्दै आएको छ । एनएसजेएफ झापाले गर्दै आएको अवार्ड कार्यक्रममा वर्ष खेलाडी (पुरुष) लाई एक थान मोटरसाइकल, वर्ष खेलाडी (महिला) लाई एक थान स्कुटर, वर्ष खेलाडी (युवा) लाई नगद २५ हजार, उत्कृष्ट वर्ष प्रशिक्षकलाई नगद २५ हजार, पिपुल्स च्वाइजअन्तर्गत एक खेलाडीलाई नगद २५ हजार र लाइफ टाइम्स अचिभमेन्ट अवार्डस्वरुप एकजनालाई नगद ३५ हजार रुपैयाँ प्रदान गर्दै आएको छ ।
मञ्चको बैठकले नयाँ सदस्यताका लागि समेत खेल पत्रकारलाई आह्वान गरेको छनोट समितिका सदस्य हिमाल खरेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.