विविध

मेचीनगरका चरा खोज्न चितवनबाट

मेचीनगर । पछिल्लो समय चराको हब बन्दै गएको मेचीनगरमा चरा खोजी गर्न चितवनबाट चरा विज्ञ मेचीनगर आएका छन् ।

विभिन्न प्रजातिका चराहरुको खानी रहेको मेचीनगरमा आन्तरिक तथा बाह्य क्षेत्रका विज्ञहरु खोज तथा अनुसन्धानका लागि यहाँ आउन थालेका हुन् ।

चितवनका गंगाराम रेग्मीको नेतृत्वमा चरा तथा बन्यजन्तुको खोज तथा अनुसन्धानका लागि बन्यजन्तुका विज्ञहरु मित्र पाण्डे, ग्याजो लामा झापा आएका हुन् । उनीहरुलाई मेची चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष देवेन्द्र खरेलले मेचीनगरमा पाइने चरा तथा बन्यजन्तुका विषयमा प्रत्यक्ष अवलोकन भ्रमण गराएका छन् ।

उनले शुक्रवार बिहान मेचीनगर ५ माङङहिम टोल स्थित दिलिप सुब्बाले सञ्चालन गरेको माछा पोखरीको सेरोफेरोमा खोजी गरेका थिए । यसैगरी खरेलले टोलीलाई मेचीनगर नगरपालिका–७ स्थित सतिघट्टाको चिया वगानको विशेष क्षेत्रमा पाइने ३२ प्रजातिका चराहरुको प्रत्यक्ष अवलोकन गराएका थिए ।

टोलीलाई गर्मीमा आउने आगन्तुक चराहरु कालोटाउके विरहीचरी, गाजले सुनचरी, सानो जुरे कोइलीका विषयमा पनि खरेलले जानकारी गराएका थिए ।

टोलीलाई यहाँ गर्मीमा आउने आगन्तुक चराहरु स्वर्गचरी, कालो जुन वकुल्ला, निलपुच्छे, मुरलीचराहरुको प्रत्यक्ष अवलोकन गराइएको खरेलले बताए ।

नेपालमा पाइने विभिन्न प्रजातिका ९८२ चरा मध्ये मेचीनगरमा हरित परेवासहित ३२५ चराहरु पाइने गरेको छ ।

टोलीले ध्वाँसे चितुवा तथा अन्य वन्यजन्तुको अवस्था बुझ्न कनकाई नगरपालिकाको जामुनखाडी सिमसारको वन्यजन्तु उद्दार केन्द्रको अवलोकन समेत गरेको थियो । काठमाडौँ स्थित थर्ड पोल कन्जरभेन्सी संस्थामा आबद्ध रेग्मी विगत २५ वर्ष देखि स्तनधारी जन्तुको खोजी कार्यमा छन् । उनले मेचीनगरमा विभिन्न प्रजातिका चरा पाइने खरेलले जानकारी दिए पछि झापा आएको बताए ।

यसअघि पनि चरा, हात्ती तथा वन्यजन्तुको अवस्था बुझ्न स्वदेशी तथा विदेशी यस सम्बन्धीका विशेषज्ञहरु मेचीनगर आउने गरेका छन् ।