झापा, श्रावण ११ । विर्तामोडको व्यापारिक केन्द्र हनुमान सेन्ट्रलमा साँझ ७ बजेबाट सुरु भएको आगलागी भर्खरै नियन्त्रणमा आएको छ । करिब डेढ घण्टाको अथक प्रयासपछि आगलागी नियन्त्रणमा आएको हो । आगो नियन्त्रणका लागि बिर्तामोड, मेचीनगर र भद्रपुरको दमकल परिचालन गरिएको थियो ।
त्यस्तै, स्थानीयबासी, सुरक्षाकर्मीको लामो प्रयासपछि करिब ८ः१५ बजे आगो नियन्त्रणमा आएको हो । सेन्ट्रलमा रहेको एक जुत्ता पसलको एसी सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान छ तर प्रहरीले भने पुष्टि गरिसकेको छैन । आगलागीबाट इर्की र सामसुंगको मोवाइल डिलर जलेर नस्ट भए पनि के कति क्षति भयो भन्ने विवरण आउन नसकेको प्रहरीले जनाएको छ ।

