धर्म संस्कृती संघ \संस्था

चुलाचुली-१ मा विजय दशमीको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

चुलाचुली । इलामको चुलाचुली गाउँपालिका वडा नं १ को आयोजनामा विजय दशमी २०८० को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ।

नेपालीहरूको महान चाड विजय दशमीको अवसरमा वडा कार्यालयले बुधबार जनप्रतिनिधिसहित, विभिन्न राजनैतिक दल, संघ संस्थालगायत चुलाचुली १ नं वडाबासिहरूको सहभागितामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा चुलाचुली गाउँपालिका वडा नं १ का वडाध्यक्ष्य पूर्ण लावती (ध्रुव) ले सम्पूर्णमा नेपालीहरुको महान पर्व विजया दशमीको पावन अवसरमा सुख शान्ति, समृद्धिको शुभेच्छा र कामना गर्दै हर्ष उल्लासका साथ मनाउनका लागि शुभकामना व्यक्त गरे ।

त्यसै शुभकामना आदान प्रदान कार्यक्रम कै बिच वडा बासीहरुलाई कसरी शान्ति सुरक्षा कायम गरी हर्ष उल्लासका साथ चाडपर्व मनाउने वातावरण तय गर्न सकिन्छ भन्ने विषयमा सुरक्षा निकायका व्यक्तिहरू संग अन्तरक्रिया तथा छलफल भएको थियो।

सशस्त्र प्रहरी बल बेस क्याम्प चुलाचुली गाउँपालिका प्रमुख प्रहरी निरीक्षक दिनेश पाठकले आम नागरिक शान्ति सुरक्षाको विषयमा सचेत र संवेदनशील बन्न सके मात्र यो पर्वलाई हर्ष उल्लासको साथ मनाउन सकिने बताए । त्यस्तै पेल्टीमारी प्रहरी चौकी प्रमुख मनोज अधिकारीले चाडपर्वमा हुन सक्ने जोखिम र अवाच्छनिय गतिविधिलाई निस्तेज पार्न प्रहरी र जनता बीच सकारात्मक समन्वय हुन आवश्यक रहेको बताए ।

चुलाचुली-१ नं वडाध्यक्ष्य ध्रुवको अध्यक्षतामा आयोजित कार्यक्रममा सहस्त्र बेस क्याम्प चुलाचुली प्रमुख पाठकको प्रमुख आतिथ्य रहेको थियो । त्यस्तै पेल्टी मारी प्रहरी चौकी प्रमुख अधिकारीको विशिष्ट आतिथ्य रहेको थियो।

चुलाचुली वडा नं १ का वडासचिव गोविन्द ढकालले सञ्चालन गरेको कार्यक्रममा विभिन्न राजनैतिक दल संघ संस्था, टोल विकास संस्था लगायतका प्रतिनिधिले शुभकामना व्यक्त गरेका थिए ।