समाचार

दुर्गा प्रसाईं प्रकाउ, उनीमाथि कीर्ते र साइबर अपराधको मुद्दामा अनुसन्धान हुने

काठमाडौं । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम मुद्दा चलाइने भएको छ ।

प्रसाईंले कीर्ते कागजात देखाएर प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाएको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ ।

प्रसाईंलाई मंगलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता एसपी होविन्द्र बोगटीका अनुसार उनीविरुद्ध सीआईबी मातहतकै साइबर क्राइम ब्युरोले सो मुद्दा चलाउने भएको हो ।

‘पक्राउ गरेर पहिला सीआईबीमा ल्याइँदैछ,’, उहाँले भन्नुभयो, ‘यहीँको हिरासतमा राखेर कारबाही अगाडि बढ्छ ।’

प्रसाईंविरुद्ध कागजात कीर्ते मुद्दासमेत चल्ने भएको छ ।

आज नै अदालतमा उपस्थित गराएर उनलाई हिरासतमा राख्न म्याद लिने प्रहरी तयारी छ । सीआईबी स्रोतका अनुसार तत्काल साइबर अपराधसम्बन्धी मुद्दामा म्याद थप गरिए पनि अनुसन्धानका क्रममा उनले गरेका अन्य कसुरसमेत आकर्षित हुने छन् ।

प्रसाईंले प्रधानमन्त्री ओलीले कम्बोडियाको टेलिकम कम्पनीमा लागानी गरेको प्रमाण भन्दै कागज पत्र सार्वजनिक गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

प्रसाईंले प्रधानमन्त्री ओलीको कम्बोडियास्थित स्मार्ट एक्जिएटा टेलिकम कम्पनीमा लगानी रहेको भ्रम फिँजाउँदै प्रसाईंले सोमबार केही कागजात सार्वजनिक गरेका थिए । ती विवरणहरु सामाजिक सञ्जालमा भाइरल भएका छन्।

झापाको बिएन्डसी मेडिकल कलेजका सञ्चालक प्रसाईं नागरिक बचाउ महाअभियानका संयोजक हुन्। विवादास्पद छविका प्रसाईंले यसअघि पनि विभिन्न अभिव्यक्तिका कारण चर्चामा आउने गरेका छन्।

बैंकको ऋण मिनाहा भन्दै उनले जनतालाई उक्साउन आन्दोलन गर्दै आएका छन्।