झापा । झापा जिल्लामा महिला फुटबलको इतिहासमै पहिलोपटक अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट महिला फुटबल प्रतियोगिता ‘झापा महिला गोल्डकप’ आयोजना हुने भएको छ। शिवसताक्षी नगरपालिका–११ स्थित नवनिर्मित दुधे रंगशालामा प्रतियोगिता कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने तयारी तीव्र रूपमा भइरहेको आयोजक समिति अध्यक्ष सन्तोष थोप्रा बताउँछन्।
महिला फुटबलको प्रवर्द्धन, स्थानीय प्रतिभाको उत्पादन र राष्ट्रिय स्तरको प्रतिस्पर्धालाई सशक्त बनाउने उद्देश्यले आयोजना गर्न लागिएको यो प्रतियोगिता झापामा पहिलो अन्तर्राष्ट्रिय महिला फुटबल महोत्सवका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।
प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहनेछ । आयोजकको तर्फबाट एक टिमसहित त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब र नेपालका अन्य दुई ए डिभिजन टिमहरूले सहभागिता जनाउने छन्। साथै भारत र भुटानबाट एक–एक अन्तर्राष्ट्रिय टिमको सहभागिता सुनिश्चित भइसकेको छ। विदेशी टिमको उपस्थिति प्रतियोगितालाई अन्तर्राष्ट्रिय पहिचान दिलाउने विश्वास गरिएको आयोजकले जनाएको छ।
प्रतियोगिताको पुरस्कार राशी हालसम्मका सबै महिला फुटबल प्रतियोगिता भन्दा उच्च हुने आयोजकले स्पष्ट पारेको छ। ७ देखि १० लाख रुपैयाँसम्मको नगद पुरस्कार राख्ने तयारी गरिएको छ। यसअघि इलाममा सम्पन्न प्रतियोगितामा सर्वाधिक ७ लाख रुपैयाँको पुरस्कार प्रदान गरिएको थियो।
त्यस्तै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई मस्ट भ्यालुएबल प्लेयर, सर्वोत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता लगायत विभिन्न विधामा नगदसहित ट्रफी प्रदान गरिनेछ। हरेक खेलको ‘प्लेयर अफ द वुमन’ लाई पनि नगद पुरस्कारसहित सम्मान गरिनेछ।
प्रतियोगिता आयोजना हुने दुधे रंगशालाको निर्माण कार्य तीव्र गतिमा अगाडि बढाइएको छ। २६ हजार दर्शक अटाउने क्षमताको प्याराफिट बनाउने लक्ष्यसहित रंगशालालाई फास्ट ट्रयाकमार्फत सम्पन्न गरिने जानकारी शिवसताक्षी नगरपालिकाका–नगरप्रमुख मेघाहाङ थोप्राले दिएका छन्। हालसम्म २ करोड १८ लाख रुपैयाँ खर्च भइसकेको छ भने चालु आर्थिक वर्षमा थप ३ करोड रुपैयाँ संघीय बजेट विनियोजन भएको छ।
झापा महिला गोल्डकपलाई सामाजिक उत्तरदायित्वसँग जोडिएको दीर्घकालीन खेलकुद अभियानका रूपमा अगाडि बढाइने भएको छ। प्रतियोगिता महिला खेलाडी उत्पादन, ग्रासरुट फुटबल प्रशिक्षण, प्रशिक्षक निर्माण जस्ता क्षेत्रमा पनि योगदान पुर्याउने आयोजकको अपेक्षा छ।
त्यस्तै शिवसताक्षी नगरपालिका–संरक्षक रहेको प्रतियोगितामा खेल पत्रकार हिमाल खरेलको नेतृत्वमा सचिवालय गठन गरिएको छ। आयोजक समिति अध्यक्ष थोप्राका अनुसार प्रतियोगिताबाट कम्तिमा ५० लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ, जुन आगामी संस्करणलाई निरन्तरता दिन प्रयोग गरिनेछ।

