खेलकुद

तराई प्रेस क्लब मिरिक इन्डो–नेपाल मिडिया कप च्याम्पियन

झापा  । इन्डो – नेपाल मेचीनगर मिडिया फुटबल कपको उपाधी भारतको तराई प्रेस क्लब मिरिकले जितेको छ । जीतसँगै सो क्लबले ५० हजार नगद र ट्रफी हात पारेको छ ।

पूर्वीसीमा काँकरभिट्टामा आयोजित उक्त मिडिया कपमा झापाको भद्रपुर प्रेस क्लब दोस्रो हुँदै नगद २५ हजार र ट्रफी उचाल्न सफल भयो । दुई दिने सो प्रतियोगितामा मिरिकले २ – ० गोल अन्तरले भद्रपुरलाई पाखा लगाएको हो ।

काँकरभिट्टा माविको खेल मैदानमा आज सम्पन्न फाइनल खेलको दोस्रो हाफको ३२ औँ मिनेटमा मिरिकका प्रवेश भुजेलले पहिलो गोल गरेका थिए । खेलको ४४ औँ मिनेटमा दावा लामाले गोल गर्दै टिमको विजय सुनिश्चित गरेका हुन् । दुबै टिमले ट्रफीसहित मेडल र प्रमाणपत्रमा प्राप्त गरे ।

फाइनल खेलमा दावा म्यान अफ द म्चाय भए । उनले नगद एक हजार एकसय प्राप्त गरे । प्रतियोगिता भरिको उत्कृष्ट खेलाडी भद्रपुर प्रेस क्लबका सुशान्त नेपाल, उत्कृष्ट फर्वार्ड आयोजक प्रेस क्लब मेचीनगरका युवराज आचार्य, उत्कृष्ट डिफेन्डर भद्रपुरका राजु पाठक र उत्कृष्ट गोल किपर भद्रपुरकै सुजक राउत भए ।

प्रतियोगितामा सर्वाधिक गोलकर्ता विजेता मिरिकका प्रवेश भुजेल भए । विधागतरुपमा उत्कृष्ट सबै खेलाडीलाई नगद एक हजार पाँच सयसहित ट्रफी तथा प्रमाणपत्र प्रदान गरियो ।

प्रतियोगितामा भारतका २ र झापाका ६ गरी पत्रकारका ८ टिम सहभागी थिए । विजेता, उपविजेता र उत्कृष्ट खेलाडीलाई नगर प्रमुख गोपालचन्द्र बुढाथोकी पुरस्कार वितरण गरेका थिए ।

प्रेस क्लब मेचीनगरले आयोजना गरेको प्रतियोगिताको संरक्षकमा मेचीनगर नगरपालिका तथा प्रायोजन होटल मेची क्राउन र इष्ट होराइजन अंग्रेजी मावि धुलाबारीले गरेको आयोजक क्लबका अध्यक्ष प्रकाश पौडेलले बताए ।