मेचीनगर । मेचीनगर नगरपालिका वडा नम्बर ८ को आयोजना तथा इटाभट्टा फुटबल क्लबको सहआयोजनामा “प्रथम वडाध्यक्ष फुटबल प्रतियोगिता २०८३” आगामी जेठ ९ गते शनिबारदेखि सुरु हुने भएको छ।
स्थानीय शान्ति बनबाटिका खेलमैदान, मेचीनगर–८ मा सञ्चालन हुने प्रतियोगिता जेठ १७ गते आइतबारसम्म चल्ने आयोजकले जनाएको छ। प्रतियोगितामा मेचीनगरका १५ वटै वडा तथा आयोजक ए र बि टिमसहित कुल १६ टोलीको सहभागिता रहनेछ।

प्रतियोगिताको विजेताले नगद ४१ हजार रुपैयाँ तथा उपविजेताले २१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यस्तै उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई पनि व्यक्तिगत पुरस्कार प्रदान गरिनेछ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ३ हजार १ सय रुपैयाँ, बेष्ट गोलकिपरलाई २ हजार १ सय रुपैयाँ तथा उदयमान खेलाडीलाई २ हजार १ सय रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
सेमिफाइनल चरणसम्म प्रत्येक दिन दुई वटा खेल सञ्चालन गरिनेछ। करिब ३ लाख रुपैयाँको लागतमा आयोजना हुन लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको सहआयोजक इटाभट्टा फुटबल क्लबका अध्यक्ष मनकुमार लिम्बूले जानकारी दिए।
स्थानीय स्तरमा फुटबल खेलको विकास, युवा खेलाडीको प्रतिभा प्रस्फुटन तथा खेलमार्फत सामाजिक एकता मजबुत बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको मेचीनगर- ८ का वडाध्यक्ष गिरिराज धमलाको भनाइ छ।

