खेलकुद

काँकरभिट्टामा साउन २९ गतेदेखि अन्तरविद्यालय लिग कम नकआउट फुटबल प्रतियोगिता

झापा । मेचीनगरमा विद्यालय तहका विद्यार्थी खेलाडीको फुटबल प्रतिभा पहिचान तथा विकास गर्ने उद्देश्यले मेची नेत्रालय काँकरभिट्टा अन्तरविद्यालय लिग कम नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता यही साउन २९ गते शुक्रबारदेखि मेचीनगर–६ स्थित काँकरभिट्टा माध्यमिक विद्यालयको खेलमैदानमा सुरु हुने आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा सूर्योदय इङ्लिस बोर्डिङ स्कुल र नर्थ प्वाइन्ट इङ्लिस बोर्डिङ स्कुल आमनेसामने हुनेछन् । विद्यालय तहदेखि नै विद्यार्थीलाई फुटबल खेलप्रति आकर्षित गर्दै उनीहरूको खेल क्षमता विकास गर्ने तथा स्थानीय स्तरमा प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा मेचीनगर क्षेत्रका ९ वटा विद्यालय सहभागी हुनेछन् । सहभागी विद्यालयलाई दुई समूहमा विभाजन गरिएको छ । पोल ‘ए’ मा नर्थ प्वाइन्ट इङ्लिस बोर्डिङ स्कुल, सूर्योदय इङ्लिस बोर्डिङ स्कुल, अरुणोदय इङ्लिस बोर्डिङ स्कुल, झापा नेशनल स्कुल र पशुपति इङ्लिस बोर्डिङ स्कुल रहेका छन् ।

त्यस्तै, पोल ‘बी’ मा तारापुञ्ज इङ्लिस बोर्डिङ स्कुल, गंगा मेमोरियल इङ्लिस बोर्डिङ स्कुल, श्री काँकरभिट्टा माध्यमिक विद्यालय र लोफोफोरस इङ्लिस बोर्डिङ स्कुल रहेका छन् ।

प्रतियोगिताका खेलहरू प्रत्येक हप्ताको शनिबार र आइतबार सञ्चालन गरिने पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ । लिग कम नकआउट ढाँचामा सञ्चालन हुने प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने टोलीहरूलाई अगाडि बढाउँदै अन्तिम चरणमा विजेता तथा उपविजेताको टुंगो लगाइने आयोजकको भनाइ छ ।

प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ तथा उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै, व्यक्तिगत विधातर्फ पनि खेलाडी तथा प्रशिक्षकलाई प्रोत्साहन गर्ने गरी पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगिताको बेस्ट कोच, बेस्ट गोलरक्षक, बेस्ट डिफेन्स, बेस्ट मिडफिल्डर र सर्वाधिक गोलकर्ताले जनही २ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, उत्कृष्ट खेलाडीले ३ हजार १ सय रुपैयाँ तथा प्रतियोगिताका प्रत्येक खेलका म्यान अफ द म्याचले १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

विद्यालयस्तरको फुटबल प्रतियोगितालाई व्यवस्थित रूपमा सञ्चालन गर्न करिब ४ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताको मुख्य प्रायोजक मेची नेत्रालय रहेको छ ।

प्रतियोगिताका सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका अध्यक्ष दिनेश ओलीको सभापतित्व रहेको थियो । कार्यक्रममा प्रतियोगिताका सम्बन्धमा जानकारी दिँदै आयोजक तथा सम्बन्धित क्षेत्रका व्यक्तिहरूले विद्यालय तहबाटै फुटबल खेलको विकास गर्न यस्ता प्रतियोगिता निरन्तर आयोजना गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा सल्लाहकार संयोजक गंगालाल गुरुङ, संस्थापक अध्यक्ष मिनबहादुर बस्नेत, झापा जिल्ला फुटबल संघका महासचिव शेरबहादुर बस्नेत, फुटबल प्रशिक्षक दीपक कार्की लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा सहभागी अतिथिहरूले विद्यालयमा अध्ययनरत विद्यार्थीमा रहेको खेल प्रतिभालाई उजागर गर्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनीहरूले स्थानीय स्तरमा आयोजना हुने यस्ता प्रतियोगिताले विद्यार्थीलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर दिनुका साथै भविष्यमा जिल्लास्तर तथा प्रदेशस्तरका खेलाडी उत्पादनमा समेत सहयोग पुग्ने धारणा राखेका थिए ।

काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले विगतदेखि नै फुटबल प्रशिक्षण तथा खेल गतिविधिमा काम गर्दै आएको र विद्यालय तहका खेलाडीलाई लक्षित गरेर प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ । प्रतियोगिताले विद्यालयहरूबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नुका साथै विद्यार्थीमा अनुशासन, टिमवर्क र खेलभावनाको विकासमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

कार्यक्रममा काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका उपाध्यक्ष अशोक राईले स्वागत मन्तव्य दिएका थिए भने महासचिव लाक्पा तामाङले कार्यक्रम सञ्चालन गरेका थिए ।
उद्घाटन खेलमै सूर्योदय र नर्थ प्वाइन्टबीच प्रतिस्पर्धा हुने भएकाले प्रतियोगिताको पहिलो खेल नै रोमाञ्चक हुने अपेक्षा गरिएको छ । आयोजकले प्रतियोगितालाई सफल बनाउन सहभागी विद्यालय, विद्यार्थी, अभिभावक, खेलप्रेमी तथा स्थानीयवासीलाई सहयोग र उपस्थितिका लागि आग्रह गरेको छ ।