मेचीनगर । मेची नेत्रालय काँकरभिट्टा अन्तरविद्यालय लिग कम नकआउट फुटबल प्रतियोगिताको दोस्रो दिन काँकरभिट्टा माध्यमिक विद्यालय र तारापुञ्ज इङ्लिस बोर्डिङ स्कुल विजयी भएका छन् ।
दोस्रो दिनको पहिलो खेलमा काँकरभिट्टा माविले लोफोफरस इङ्लिस बोर्डिङ स्कुललाई ४–० गोल अन्तरले पराजित गर्यो । काँकरभिट्टा माविका लागि जर्सी नम्बर ९ का अर्जुन तामाङले उत्कृष्ट प्रदर्शन गरे । उनी खेलको ‘म्यान अफ द म्याच’ घोषित भए ।
त्यस्तै, दोस्रो खेलमा तारापुञ्ज इङ्लिस बोर्डिङ स्कुलले गंगा मेमोरियल स्कुललाई ३–१ गोल अन्तरले पराजित गर्यो । तारापुञ्जका जर्सी नम्बर १५ का विपुल लिम्बू खेलको ‘म्यान अफ द म्याच’ घोषित भए ।
काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिता तीन महिनासम्म चल्नेछ । प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ र उपविजेताले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका अध्यक्ष नवराज ओलीले जानकारी दिए ।
अध्यक्ष ओलीका अनुसार विद्यालयस्तरमा फुटबल खेलको विकास गर्ने, नयाँ प्रतिभाको पहिचान गर्ने तथा विद्यार्थी खेलाडीलाई प्रतिस्पर्धात्मक वातावरण प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगितामा व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र सर्वाधिक गोलकर्ताले जनही २ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद ३ हजार १ सय रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

