झापा । मेची नेत्रालय काँकरभिट्टा अन्तरविद्यालय लिग कम नकआउट फुटबल प्रतियोगिताअन्तर्गत आइतबार तेस्रो दिनका दुई खेल सम्पन्न भएका छन्।
पहिलो खेलमा अरुणोदय इङ्लिस बोर्डिङ स्कुलले झापा नेशनल स्कुललाई २–१ गोलले पराजित गरेको छ। प्रतिस्पर्धात्मक खेलमा जित निकाल्दै अरुणोदयले महत्वपूर्ण अंक जोडेको हो। खेलमा उत्कृष्ट प्रदर्शन गरेका अरुणोदयका जर्सी नम्बर १० का अर्पन राई ‘म्यान अफ द म्याच’ घोषित भए।
त्यस्तै, आइतबार सम्पन्न दोस्रो खेलमा नर्थ पोइन्ट इङ्लिस बोर्डिङ स्कुल र पशुपति इङ्लिस बोर्डिङ स्कुलले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। दुवै टोलीले समान १/१ अंक प्राप्त गरेका छन्। खेलमा उत्कृष्ट प्रदर्शन गरेका पशुपतिका धिरज दाहाल ‘म्यान अफ द म्याच’ बन्न सफल भए।
काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिता करिब तीन महिनासम्म चल्नेछ। प्रतियोगिताका बाँकी खेलहरू शनिबार र आइतबार सञ्चालन गरिने आयोजकले जनाएको छ।
प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ तथा उपविजेताले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका अध्यक्ष नवराज ओलीले जानकारी दिए।
विद्यालय तहका विद्यार्थी खेलाडीको प्रतिभा पहिचान तथा खेलकुदको विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा विभिन्न विद्यालयका टोलीको सहभागिता रहेको छ।

