संघ \संस्था

कमल गाउँपालिमा भ्रष्टाचार र अनियमितता बिरुद्ध प्रतिपक्षको खबरदारी

झापा, मंसिर ११ । झापाको कमल गाउँपालिका भित्र राज्यको लगानीमा भईरहेका विकास निर्माण तथा विभिन्न किसिमका राज्यको ढुकुटीबाट प्राप्त अनुदानहरुमा स्थानीय सरकार पक्षबाट भ्रष्टाचार, अनियमितता र राजनीतिकरण हाबी भईरहेको भन्दै स्थानीय तहका प्रतिपक्षी दलहरुले संयुक्त खबरदारी गर्ने भएका छन् ।

आज सो गाउँपालिकामा क्रियाशील नेपाली कांग्रेस, समाजवादी पार्टी , राप्रपा, संघीय लिम्बुवान र राष्ट्रिय जनमुक्ति पार्टीका गाउँपालिका तहका नेतृत्वहरुको संयुक्त बैठक बसेर त्यस किसिमको मोर्चाबन्दी बनाउँदै खबरदारी गर्ने निर्णय गरेका हुन् ।

पछिल्लो समय कमल गाउँपालिका भित्र पर्ने केर्खा –सरङपाडा – बैगुन्धुरा सडक, रतुवापूल पूर्व (लवडाँडा) बाट झर्का हुँदै बालुवथान जाने सडकको कालोपत्रे (स्तरोन्नती) को योजनामा निर्माण पक्षबाट चरम लापरवाही गर्दै गुणस्तरहीन काम भईरहेको, काममा ढिलासुस्ती भईरहेको , गाउँपालिका अन्तर्गतका कृषि तथा पशु सेवा शाखाहरुबाट वितरण हुने कृषि अनुदानमा अनियमितता गर्दै सत्तापक्षीय नेकपाका कार्यकर्ताहरुलाई वितरण गरिरहेकोे, पर्यटकीय क्षेत्रको विकासका लागि प्रदेश सरकारको बजेट तथा योजनाहरु प्रभावहिन रहेको चर्चा बाहिर आईरहेको छ ।

कमल गाउँपालिका वडा नं ६ का स्थायीबासिन्दा समेत रहेका समाजवादी पार्टी झापाका अध्यक्ष दिपेनवाला राईले स्थानीय तहले स्थानीय नागरिकहरुको सरकारको रुपमा रहन नसकि कार्यकर्ता भर्ती केन्द्र र पार्टी कार्यालयको रुपमा रहेर काम गर्दा कमलबासीहरु लगायत जिल्लाका धेरै स्थानीय तहहरुमा अन्यायमा परिरहेकोले यस किसिमको मोर्चाबन्दी मार्फत संयुक्त रुपमा खबरदारी गर्न आवश्यक रहेको बताउनु भयो ।

नेपाली कांग्रेस झापा क्षेत्र नं ५ का सचिव समेत रहनु भएका कमल ६ का अर्का स्थानीय धर्मानन्द भट्टराईले समाजमा , सत्ता वा सरकारमा भएकाहरुले गर्ने अनियमितताका विरुद्ध खबरदारी गर्नुपर्ने राजनीतिक पार्टीहरुको जिम्मेवारी भएकाले यस किसिमको मोर्चाबन्दीलाई स्वभाविक रुपमा लिइनु आवश्यक भएको बताउनु भयो ।

स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षका प्रत्यासी रहेका नेपाली कांग्रेसका स्थानीय नेता हुकुमसिंह राई स्थानीय सरकारले उपल्लो तह वा जुनसुकै निकायबाट पनि आफ्नो क्षेत्रमा भईरहेका कामहरुको अनुगमन, निरिक्षण गरी प्रभावकारी कार्यान्वयन गराउने जिम्मेवारी हुने भएकाले त्यस अनुरुपक कार्य नहुँदा खबरदारीका लागि कमल गाउँबासीहरुको नेतृत्व स्थानीय राजनीतिक पार्टीहरुले गर्नु स्वभाविक भएको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published.