काठमाडौं, पुष २ । १३ औं दक्षिण एसियाली खेलकुद सागमा पदक बिजेता इलामे खेलाडी सम्मानित भएका छन् ।
इलाम विकास समाजले मंगलबार आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि पूर्वसभामुख तथा इलाम क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सांसद सुबास नेम्बाङलगायतले पदक बिजेता ५ इलामे खेलाडीलाई नगद सहित सम्मान गरेका हुन् ।
सम्मानित हुनेमा फुटबल टोलीका छिरिङ गुरुङ, उसुकी जुनी राई, महिला फुटबल टीमकी एन्जिला तुम्बाम्पो, भलिबलकी विनिता बुढाथोकी, बास्केटबलका विनय बुर्जालाई सम्मान गरिएको हो ।
सागमा छिरिङ फुटबलका स्वर्ण पदक प्राप्त खेलाडी हुन् । त्यस्तै जुनी उसुको स्वर्ण बिजेता खेलाडी हुन्।
कार्यक्रमका प्रमुख अतिथि पूर्वसभामुख तथा इलाम क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सांसद सुबास नेम्बाङले पूर्वाधारको अभाव विनै नेपाली खेलाडीले ठूलो सफलता हात पारेको बताए । खेल क्षेत्रमा लागेका खेलाडीको क्षमता विकास तथा रोजगारीको अवस्था सिर्जनागर्न आफूले भूमिका खेल्ने बताए ।
इलाम विकास समाजको सम्मान कार्यक्रमलाई समाजसेवी डम्बर खड्काले प्रायोजन गरेका थिए । खड्काले स्वर्ण बिजेताका लागि प्रतिव्यक्ति २५ हजार रुपैयाँ, कास्य विजेताका लागि प्रतिव्यक्ति २० हजार रुपैयाँ र रजत बिजेताका लागि प्रतिव्यक्ति १५ हजार रुपैयाँ वितरण गरेका थिए ।
पुरस्कार वितरण गर्दै समाजसेवी खड्काले खेलबाट देशको नाम राख्न सफल खेलाडीलाई बधाई तथा शुभकामना दिँदै खेलाडीलाई हौसला बढाउन सानो सहयोग गरेको बताए । उनले भने, ‘खेलाडीले इलामको मात्र होइन, देशको नाम उचो बनाएका छन् । हामीले सक्ने सहयोग जारी रहनेछ । खेलाडीको प्रोत्साहनका लागि सक्ने सहयोग जारी रहनेछ ।’

