काठमाडौं, पुष ११ । चिसो मौसम सुरु भएसँगै रुघाखोकी, ज्वरो आदि समस्याहरुले मानिसहरुलाई सताइरहेको हुन्छ । यस्ता समस्याहरुबाट जोगिन र जाडोमा स्वस्थ रहनका लागि अलि होसियार हुनु आवश्यक छ । यसै सन्दर्भमा आज हामी जाडो मौसममा स्वस्थ रहनाका लागि अपनाउनु पर्ने केहि उपायका बारेमा बताउदैछौं ।
चिया–कफी कम खानु
जाडोमा तात्तातो चिया–कफीले फाइदा गर्छ भन्ने सोच्दै हुनुहुन्छ भने यो गलत हो। अत्याधिक चिया–कफी खानाले शरीरमा क्याफिन र सुगरको मात्रा बढ्न पुग्छ, जसले शरीर पूरै ‘डिहाइड्रेटेड’ हुन्छ । चिया–कफीको सट्टा तातो दूध, ग्रिन टी अथवा तातो पानीव खानु आवश्यक छ।
प्रसस्त पानी पिउने
जाडोमा पानी खान गर्मीमा जसरी मन लाग्दैन । किनकि, जाडोमा प्यास लागेको महसुस त्यति हुँदैन । तर पानी पर्याप्त खाइएन भने शरीर ‘डिहाइड्रेटेड’ हुन्छ, जसले गर्दा कब्जियत, छाला फुस्रो हुने, ओठ फुट्ने आदि समस्या देखा पर्छ । पानी कम भयो भने किड्नी पनि राम्रोसँग क्रियाशील हुन पाउँदैन ।
धेरै समय घाममा नबस्ने
जाडोमा घाम प्रिय हुन्छ भन्दैमा घण्टौँसम्म घाम ताप्ने गर्नु ठीक हुँदैन । आधा अथवा पौने घण्टाभन्दा बढी समय लगातार घाम ताप्नु हुँदैन । जाडोको मौसममा घामको किरणबाट जोगाउने मेलानिनको तह छालामा कम हुने भएकाले बढी समय घाम तपियो भने छाला डढ्ने समस्या हुन्छ । जाडोमा बाहिर निस्कँदा सन्स क्रिम लगाउनु आवश्यक छ ।
कम सुत्नु
जाडोमा बिहानीपख न्यानो बनाइराखेको सिरक फालेर उठ्न अल्छी लाग्छ । जाडो मौसममा रात लामो हुने भएकाले हामी बेलुका छिटो सुत्छौँ र बिहान ढिलो उठ्न खोज्छौँ । दिउँसो फुर्सद मिल्यो भने सिरकभित्र घुस्रिन पुग्छौं । तर, यसरी बेला न कुबेला सुत्दा निद्राको रुटिन भंग हुन्छ र यसले अनेक खालका स्वास्थ्य समस्या निम्त्याउने जोखिम बढ्छ ।
मास्क लगाएर मात्र बाहिर निस्कनु
जाडो मौसममा खासगरी बढी चिसो हुने बिहान र साँझपख वायुमण्डलको तल्लो तहमा ब्याक्टेरिया, भाइरसलगायत जीवाणु बढी क्रियाशील हुन्छन् । साथै, धुलोका कण पनि बिहान–बेलुका वायुमण्डलको तल्लो तहमा जम्मा भएका हुन्छन् । त्यही भएर मास्क नलगाई बिहान–बेलुका घरबाहिर निस्किनाले श्वासप्रश्वास, छालासम्बन्धी रोग लाग्ने जोखिम बढाउँछ ।
तातोपानीले धेरैबेर ननुहाउने
तातो पानी उपलब्ध छ भन्दैमा जाडो मौसममा बढी समयसम्म नुहाउनु हुँदैन । किनकि, तातो पानीले बढी समय लगाएर नुहाउने गरियो भने छालामा रहेको म्वइस्चराइजेसन कम हुन्छ र छाला फुस्रो बन्छ ।
न्यानो कपडामा बाहिर निस्कने
फेसनेबल देखिन जाडोमा समेत बाहिर जाँदा न्यानो लुगा नलगाउने, गला नछोपिने कपडा लगाउने स्वभाव कसै–कसैको हुन्छ । एकैछिनका लागि त बाहिर जाने हो भनेर पातलो कपडा लगाएर केही बेरका लागि बाहिर निस्कने बानी पनि हुन्छ । यस्तो गर्नु हुँदैन । यस्तो गर्नाले रुघाखोकी, ज्वरो, निमोनिया आदि हुने अथवा नसामा रगत जम्ने समस्या उत्पन्न हुन सक्छ ।

