काठमाडौं, फागुन ४ । हतियारधारी समूहको आक्रमणमा परी अफ्रिकी मुलुक नाइजेरियामा ३० जनाको निधन भएको छ । देशको उत्तरपश्चिमी क्षेत्रमा पर्ने ग्रामीण क्षेत्रमा भएको हिंसात्मक घटनामा परी उनीहरुको निधन भएको अधिकारीहरुले जनाएका छन् ।
प्रहरी अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार मोटरसाईकलमा आएका दर्जनौं बन्दुकधारीले गाउँभरि अन्धाधुन्ध आक्रमण गरेका थिए । उनीहरुले काट्सीना राज्यमा पर्ने साउवा र डाङकर गाउँमा बस्ने स्थानीय बासिन्दालाई शुक्रबार गोली प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ । आक्रमणकारीहरुले स्थानीयलाई घर घरमै पुगेर आक्रमण गरेका थिए । उनीहरुको घरमा समेत आगजानी गरेका थिए ।
‘हतियारधारी आक्रमणकारीहरुले साउवामा २१ जनाको हत्या गरेका छन् भने अरु नौ जनालाई डाङ्कर गाउँमा हत्या गरेका छन्’ कात्सिनाका प्रहरी प्रवक्ता गाम्बो इसाहले भने । मारिएकामध्ये अधिकांश बृद्धबृद्धा र बालबालिका छन् । आक्रमणकारीहरुले आक्रमण गर्न थालेपछि भाग्न नसकेकाले निधन हुनेमा बृद्धबृद्धा र बालबालिका धेरै भएको अधिकारीहरुले बताएका छन् ।
आक्रमणकारीहरुले मानिसकाे हत्या र घरहरुमा आगजनी गरेकाे घटना दर्दनाक भएको प्रहरीको भनाई छ । एक स्थानीय बासिन्दाले भने, ‘यति दर्दनाक र क्रुर घटना मैले जीवनमा अहिलेसम्म देखेको थिइनँ ।’ रासस

