झापा, फागुन ६ । झापाको बिर्तामोडमा एक महिनाअघि सञ्चालनमा आएको पूर्वाञ्चल क्यान्सर अस्पतालले क्यान्सर रोग परीक्षण गर्ने थ्री डी अटोमेटिक मेमोग्राम मेसिन भित्र्याएकाे छ ।
विश्वको स्वास्थ्य क्षेत्रमा स्तन (ब्रेस्ट) क्यान्सर पत्त लगाउनका लागि अतिउपयोगी मानिएको मेमोग्राम पूर्वाञ्चल क्यान्सर अस्पतालले मंगलबारदेखि सञ्चालनमा ल्याएको अस्पतालका निर्देशक दुर्गा प्रसाईले जानकारी दिए ।
अस्पताल परिसरमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा यो मेसिन नेपालमै पहिलो भएको दाबी गरियो । महिलाका लागि अत्ति उपयोगी हुने बताउँदै निर्देशक प्रसाईले सहज तरिकाबाट क्यान्सर भए, नभएको पत्ता लगाउन प्रयोग गरिने यो मेसिन ५ करोडको लागतमा भित्र्याइएको बताए ।
थ्री डी प्रविधि भएकाले क्यान्सर छ वा छैन भनेर सहजै परीक्षण गर्नका लागि मेसिन उपयोगी हुने फिनल्यान्डबाट आएका मेमोग्राम स्पेसलिस्ट डाक्टर तापियोले जानकारी दिए । उनका अनुसार यस मेसिनले एकपटकमा ६ वटा इमेज निकाल्न सक्छ ।मेसिनले विभिन्न ३ चरणमा हुने क्यान्सर रोगकोे परीक्षण गर्ने अस्पतालका डा. वीरेन्द्र यादवले बताए ।
थ्री डी इमेजबाट क्यान्सर रोग परीक्षण गर्ने मेसिन नेपालका कुनै पनि क्यान्सर अस्पतालमा नभएको उनको भनाइ छ ।यो मेसिनको परीक्षणबाट ३० सेकेण्डमै स्तनमा भएको क्यान्सर रोग पत्ता लाग्ने दाबी गरिएको छ । अन्य अस्पतालले जडान गरेको टु डी मेसिनबराबर नै शूल्क निर्धारण गरिएको अस्पतालले जनाएको छ ।क्यान्सर रोगको परीक्षण रोग नहुँदा पनि गर्नुपर्ने डा. यादवको भनाइ छ । उनले परीक्षण किन गर्ने ? भन्दा पनि किन नगर्ने ? भन्ने प्रश्न उब्जिएको सुनाए ।
केही समयअघि महिलाको पाठेघरको क्यान्सरको जोखिम रहे पनि केही वर्षयता स्तन क्यान्सर १० गुणा बृद्धि भइरहेको तथ्यांक उनले सुनाए ।डेढ महिनाअघि क्यान्सरको परीक्षण तथा उपचार सुरु गरेको पूर्वाञ्चल क्यान्सर अस्पतालमा हालसम्म ४० जनाभन्दा बढीले उपचार गराएका छन् ।
मेमोग्राममार्फत मंगलबारमात्र ४ जनाको स्तन क्यान्सरको परीक्षण गरिएको थियो । अहिले क्यान्सर उपचारका लागि जनकपुरदेखि भारतको असामबाट आउने गरेको अस्पतालले जनाएको छ ।

