धरान, फागुन १७ । २२ औं संस्करणको बुढासुब्बा टुबोर्ग गोल्डकप फुटबल प्रतियोगिताको उपाधी मनाङ मस्र्याङ्दी क्लब काठमाडौले जितेको छ । शनिबार धरान रंगशालामा भएको फाइनल खेलमा मनाङले नेपाल पुलिस क्लब काठमाडौलाई ३–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।
उपाधिसँगै मनाङले नगद १० लाख र ट्रफि, मेडल प्राप्त गरेको छ । त्यस्तै उपविजेता भएको पुलिस क्लबले नगद ५ लाख र ट्रफि, मेडल प्राप्त गरेको छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै मनाङका सुरज बिकले होण्डाको डियो स्कुटी पुरस्कार प्राप्त गरेका छन् । त्यस्तै प्रतियोगिताको उच्च गोलकर्ता हुँदै मनाङका दयानन्द सिंहले ३५ हजार पुरस्कार जिते । त्यस्तै प्रतियोगिताको उत्कृष्ट गोल किपर मनाङका अशोक मास्के, उत्कृष्ट डिफेन्स पुलिसका सुमन सुवेदी, उत्कृष्ट मिडफिल्डर मनाङका पुजन उपरकोटी, उत्कृष्ट फरवार्ड पुलिसका जुमनु राई र उत्कृष्ट प्रशिक्षक मनाङका फुजा तोपे घोषित भए । उनीहरुलाई जनही २५ हजार नगद पुरस्कार प्रदान गरिएको छ । त्यस्तै धरान फुटबल क्लबका रिभस मास्के राईजिङ प्लेयर घोषित हुँदै नगद १० हजार पुरस्कार जितेका थिए ।
मनाङलाई उपाधि दिलाउन दयानन्द सिंहले खेलको ११ औं मिनेटमा एक गोल भने निशान लिम्बूले ४९ औं मिनेट र बिमल रानाले दोस्रो हाफको इन्जुरी समयमा गोल गरेका थिए । पुलिसका तर्फबाट एकमात्र गोल भोला सिलवालले गरे । मनाङका पुजन उपरकोटीले डि बक्स एरियामा बललाई हातले छोएपछी पुलिसले पेनाल्टी हान्ने अबसर पाएको थियो । खेल अबधिभर मनाङले पुलिसलाई पुरै दवावमा राखेको थियो ।
फाईनल खेलको म्यान अफ दि म्याच मनाङका अन्जन विष्ट घोषित भए । उनले नगद १५ हजार नगद प्राप्त गरे । मनाङका बिमल रानाले गरकोको गोल खेलको उत्कृष्ट गोल घोषित भयो । उनलाई नगद ५ हजार पुरस्कार दिइएको थियो ।
मनाङका प्रशिक्षक फुुजाले खेलाडीले उत्कृष्ठ खेल प्रर्दशन गरेका कारण सिजनको पहिलो उपाधि हात परेको बताए । पुलिसका प्रशिक्षक दिनेश गुरुङले खेलाडीले गोल गर्ने अबसरलाई सदुपयोग गर्न नसक्दा पराजित हुनु परेको बताए । उपाधि विजेत टीमलाई प्रदेश १ का मूख्यमन्त्री शेरधन राई, अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्माछिरिङ शेर्पा र धरान फुटवल क्लवका अध्यक्ष किशोर राईले पुरस्कार प्रदान गरेका थिए । फागुन १० गतेदेखि भएको प्रतियोगितामा २ विदेशि सहित ८ टिमको सहभागीता रहेको थियो ।

