समाचार

बागलुङकी युवतीमा कोरोना पोजेटिभ

काठमाडौं, चैत १५ । बागलुङकी एक युवतीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । बेल्जियमबाट नेपाल आएकी ती १९ वर्षीया युवतीमा संक्रमण पुष्टि भए संगै नेपालमा कोरोना संक्रमण संख्या पाँच पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणको क्रममा बेल्जियमबाट नेपाल आएकी युवतीमा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार ती युवती चैत ४ गते बेल्जियमबाट कतार ट्रान्जिट हुँदै नेपाल आइपुगेकी हुन् । उनको स्थायी ठेगाना बाग्लुङ भएको बताइएको छ । हाल उनलाई धौलागिरी अस्पतालमा राखिएको छ ।

पाँचौ केसको रुपमा कोरोना संक्रमण देखिएकी युवती यसअघि दोस्रो केसका रुपमा कोरोनाको संक्रमण देखिएकी १९ वर्षीया किशोरीसँगै कतारको दोहाबाट एउटै जहाजमा नेपाल आएकी थिइन् ।

फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षीया युवतीलाई कोरोना संक्रमण देखिएपछि सरकारले कतार एयरको जहाजमा नेपाल आएका यात्रुको खोजी गरेको थियो । जसक्रममा बाग्लुङ घर भएकी १९ वर्षीया कोरोना संक्रमण देखिएको हो । उनीहरु कतार एयरवेजको फ्लाइट नम्बर क्यूआर ६५२ बाट चैत ४ गते काठमाडौं आइपुगेका थिए ।

नेपालमा कोरोना संक्रमण देखिएका ५ जनामध्ये १ जना उपचारपछि निको भइसकेका छन् । २ जना संक्रमितको काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल तथा १ जनाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको र अर्का १ को धौलागिरी अस्पताल बाग्लुङमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published.