काठमाडौं, जेठ ८ । नेपालमा थप १७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनीहरु झापा कचनकवल गाउँपालिका वडा नम्बर ३, ६ र ८ का मात्रै १५ जना रहेका छन् । उनीहरु १८ देखि ४६ वर्षका पुरुषहरु छन् ।
त्यस्तै धनकुटाका ३४ वर्षीय पुरुष र सुनसरी धरान उपमहानगरपालिकाकी ५१ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले बिहीबार प्रकाशित विज्ञप्तिमा जनाएको छ ।
उनीहरुको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, विराटनगरमा गरिएको परीक्षणमा नयाँ पुष्टि भएको हो । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
आज बिहान थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४४४ पुगेको मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

