खेलकुद

रोनाल्डोको २ गोल, डिफेन्डिङ च्याम्पियन क्लब युभेन्टस बराबरीमा रोकियो

एजेन्सी, असार २८ । इटालियन सिरी ‘ए’ मा डिफेन्डिङ च्याम्पियन क्लब युभेन्टस शनिबार राति भएको खेलमा अटलान्टासँग २–२ गोलको बराबरीमा रोकिएको छ ।

आफ्नै घरेलु खेल मैदानमा भएको खेलमा युभेन्टसलाई क्रिस्टियानो रोनाल्डोले दुई पेनाल्टीमा गोल गर्दै टोलीलाई हारबाट जोगाए ।

खेलमा पाहुना टोलीले सुरुआती अग्रता बनाएको थियो ।

खेलको १६औं मिनेटमा डुभान जापटाले गोल गर्दै अटलान्टालाई पहिलो हाफभरि अग्रता दिलाए ।

खेलको ५५औं मिनेटमा युभेन्टसले पेनाल्टीको मौका पाएको थियो, जसमा रोनाल्डोले सहजै गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काए ।

८०औं मिनेटमा रुस्लान मलिनोस्कीले गोल गर्दै पाहुना टोलीलाई पुनः अग्रता दिलाएका थिए ।

तर, खेलको ९०औं मिनेटमा युभेन्टसले फेरि पेनाल्टीको मौका पायो, जसमा रोनाल्डोले गोल गर्दै टोलीलाई हारबाट जोगाए ।

बराबरीसँगै युभेन्टसले दोस्रो स्थानको लाजियोभन्दा ८ अंकको अग्रता बनायो ।

शीर्ष स्थानको युभेन्टससँग ७६ अंक छ भने दोस्रो स्थानको लाजियोसँग ६८ अंक रहेको छ ।

यता, तेस्रो स्थानको अटलान्टाले भने ६७ अंक जोड्यो । युभेन्टससँग बराबरी खेलेपछि उसले दोस्रो स्थानमा उक्लिने अवसर गुमायो ।

Leave a Reply

Your email address will not be published.