मेचीनगर, साउन २ । मेची नेत्रालय आँखा अस्पताल काँकरभिट्टाले आफ्नो दमक शाखामार्फत सेवा सुरु गरेको छ ।
आम नागरिकहरुमा थप गुणस्तरीय र बिस्तारित सेवा प्रदान गर्ने उद्देश्यका साथ अस्पतालको पहिलो शाखाको रुपमा दमक शाखाको स्थापना गरिएको अस्पतालका मेडिकल डाईरेक्टर डा। शरदचन्द्र प्रकाश राईले बताउनु भयो ।

पूर्वीनाका काँकरभिट्टा रहेको मेची नेत्रालयले नेपालसंगै छिमेकी राष्ट्र भारत, भुटान बंगलादेश लगायत देशका नागरिकहरुलाई सेवा दिदैं आएकोमा पूर्वी नेपालका आम सेवाग्राहीलाई अझ सहज रुपमा उपचार सेवा दिने उद्देश्यका साथ दमकमा अस्पतालको शाखा स्थापना भएको अस्पतालकी प्रशासक पुनम प्रधानले जानकारी दिनु भयो ।
आजबाट अस्पतालको दमक शाखा औपचारीक रुपमा सुरु गरिएको र उपचार सेवा समेत सरु गरिएको प्रशासक प्रधानले बताउनु भयो । उद्घाटनसंगै आज पहिलो दिन २० जनाले आँखाको उपचार सेवा लिएको प्रधानले जानकारी दिनुभयो ।
दमक स्थित इलाका प्रहरी कार्यालय अगाडी स्थापना भएको अस्पतालले झापा, मोरङ, इलाम, पाँचथर लगायत पूर्वका विभिन्न क्षेत्रका नागरिकहरुललाई उपचार सेवा प्रदान गर्ने लक्ष राखिएको मेडिकल डाईरेक्टर डा। राईले बताउनु भयो ।
अस्पतालको दमक शाखामार्फत हाल डा। राईकै नेतृत्वमा ३ जना सिनियर अप्थाल्मिक अफिसरसंगै अन्य चिकित्सक एवं कर्मचारी गरी १५ जनाकोे टिमले सेवा प्रदान गर्ने बताइएको छ ।
अस्पतालमा आँखा उपचारको लागि सबै किसिमका शल्यक्रिया, प्रयोगशाला औषधी एवं चश्मा पसलको समेत सुविधा रहेको प्रशासक प्रधानले बताउनु भयो । आँखा उपचारको लागि पूर्वमै भरपर्दो अस्पतालको रुपमा पहिचान बनाएको मेची नेत्रालय आफ्नो स्थापनको १४ औं बर्षमा सेवारत छ ।

