काठमाडौँ, साउन ६। इटालियन सिरी ‘ए’ मा सोमबार राति युभेन्टसको घरेलु मैदान भएको ३४औं खेलमा लिग लिडर युभेन्टसले लाजियोमाथि २५औं जित निकालेको छ ।
युभेन्टसलाई जित दिलाउन रोनाल्डोले दुवै गोल गरेका थिए भने लाजियोका सिरो इम्मोबाइलले एक गोल फर्काए र खेल २–१ को गोल अन्तरमा सकिएको थियो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ५१औं मिनेटमा युभेन्टसले पेनाल्टी पाएको थियो । जसमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई सुरुआती अग्रता दिलाए त्यस्तै त्यसको तीन मिनेट नबित्दै पाउलो डेबालाको पासमा रोनाल्डोले दोस्रो गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए ।
यस गोलसँगै रोनाल्डो सिरी ‘ए’मा ३० गोल गर्ने तेस्रो खेलाडी बनेका छन् । उनले यस सिजन ३० खेल खेल्दै ६ असिस्ट पनि गरेका छन् । रोनाल्डो र इम्मोबाइल सिरी ‘ए’को सर्वाधिक गोलको दौडमा अघि देखिएका छन् । लाजियोका इम्मोबाइले पनि युभेन्टसविरुद्ध खेल्दा ३० गोल गरेका छन् ।
खेलको ८३औं मिनेटमा लाजियोका इम्मोबाइलले गोल फर्काएका थिए ।
यो जितसँगै युभेन्टस सिरी ‘ए’ उपाधि नजिक पुगेको छ । अब युभेन्टसलाई उपाधिका लागि मात्र ४ अंकको खाँचो छ । यता, दोस्रो स्थानको नापोलीभन्दा आठ अंकको अग्रता बनाएको छ । शीर्ष स्थानको युभेन्टससँग ८० अंक छ भने समान खेल खेलको इन्टर मिलान ७२ अंकका साथ दोस्रो स्थानमा छ । पराजित लाजियो भने ६९ अंकका साथ चौथो स्थानमा छ । एजेन्सी





