काँकरभिट्टा । एथ्लेटिक्स खेल विधाको एक नम्बर प्रदेशस्तरीय प्रतियोगितामा भाग लिने झापाका खेलाडीलाई आइतबार एक कार्यक्रमकाबीच विदाई गरिएको छ ।
आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रतिष्पर्धा गर्ने प्रदेशस्तरीय खेलाडी छनोट गर्न हुन लागेको प्रतियोगितामा भाग लिने झापाली खेलाडी विदाई भएका हुन् ।

उनीहरुलाई जिल्ला खेलकुद विकास समिति अध्यक्ष शङ्कर थापा, कार्यालय प्रमुख टहलदास मैनाली, प्रशिक्षण प्रमुख टार्जन सुब्बालगायतले सफलताको शुभकामनासहित विदाई गरेका थिए ।
काँकरभिट्टा माविको खेल मैदानमा भएको कार्यक्रममा कराते वरिष्ठ प्रशिक्षक मदन उप्रेती, राखेप कर्मचारी सङ्घ केन्द्रीय सदस्य हरि भूजेल, जनप्रतिनिधि तथा एथ्लेटिक्स सङ्घ जिल्ला सदस्य राजकुमार श्रेष्ठलगायतको उपस्थिति थियो ।
सो प्रतियोगितामा सहभागिता जनाउने २२ सदस्यीय झापाली टोलीको प्रशिक्षकमा मेनुका राउत र व्यवस्थापकमा राजनारायण चौधरी रहेका एथ्लेटिक्स सङ्घका जिल्ला अध्यक्ष बाबुराम पराजुलीले बताए ।
जिल्लास्तरीय छनोट प्रतियोगिताबाट छानिएका पुरुष १२ र महिला ८ गरी झापाका २० जना खेलाडीले यही फागुन १३, १४ र १५ गते सुनसरीस्थित इटहरी रङ्गशालामा सञ्चालन हुने प्रतियोगितामा प्रतिष्पर्धा गर्नेछन् ।
