झापा / सशस्त्र प्रहरी एपीएफ क्लब चौंथो संस्करण मगमग झापा गोल्डकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा मोरङ ११ लाई १ ० गोल अन्तरले पराजित गर्दै एपीएफ क्वाटरफाइनलमा प्रवेश गरेको छ।
डोमालाल राजवंशी रंगशालामा एपीएफलाई जित दिलाउन हरि कार्कीले पहिलो हाफको इन्जुरी समयमा हेडमार्फत निर्णायक गोल गरे । खेलको म्यान अफ द म्याच एपीएफका हरि कार्की घोषित भए । उनले नगद १५ हजार रुपैयाँ प्राप्त गरे ।
अब एपीएफले सेमिफाईनल प्रवेशका लागि त्रिभुवन आर्मी क्लबसंग प्रतिस्पर्धा गर्नेछ । यस अघि उद्घाटन खेलमा आयोजक झापा ११ ले जित निकाल्दै क्वाटरफाइनलमा स्थान पक्का गरिसकेको छ । भोली हुने पहिलो क्वार्टरफाइनल खेलमा घरेलु टोली झापा–११ ले हङकङ नेप्लिज एकाडेमीको सामना गर्ने छ ।
फाल्गुण २७ गतेसम्म चल्ने १० टोली सहभागी प्रतियोगिताको विजेताले १२ लाख ५५ हजार रुपैयाँ र उपविजेता टोलीले ६ लाख ५ हजार रुपैयाँ नगद सहित ट्रफी हात पार्नेछ ।

