झापा/ भद्रपुरस्थित मेची रङ्गशाला परिसरमा खेलको बहु प्रयोजनका लागि सुविधायुक्त दोस्रो सेमी कर्भड हल निर्माण हुने भएको छ ।

झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापाले उक्त कभर्ड हलको आइतबार एक कार्यक्रमकाबीच शिलान्यास गरेका हुन् ।
राष्ट्रिय खेलकुद परिषद्बाट स्वीकृत ३५ लाख रुपैयाँ बजेटमा निर्माण हुन लागेको कभर्ड हल विभिन्न खेलका लागि उपयोगी हुने समितिले जनाएको छ ।
समितिका कार्यालय प्रमुख टहलदास मैनालीका अनुसार दोस्रो सेमी कभर्ड हल ९० फुट लम्बाई र ५० फिट चौडाईको रहनेछ ।
आगामी चैत मसान्तसम्ममा उक्त हल तयार गर्ने लक्ष्यसहित निर्माण कार्य तीव्र पारिएको निर्माण उपभोक्ता समिति अध्यक्ष गंगाबहादुर खड्काले जानकारी दिए ।
‘एउटा मात्र कर्भड हल हुँदा अभ्यास र प्रतियोगिता खेल्न पालो कुर्नुपर्ने बाध्यता थियो’ अध्यक्ष थापाले भने– ‘त्यसैले इन्डोर गेमका खेलाडीले झेल्नुपरेको समस्यालाई मध्यनजर गरी कर्भड हल थप गरेका हौं ।’
पालो पर्खेर खेल अभ्यास गर्दै आएका मार्सल आट्सलगायत अन्य खेल विधाका खेलाडीहरु कभर्ड हल थप हुने भएपछि उत्साहीत भएका छन् ।
शिलान्यास कार्यक्रममा जिल्ला खेलकुद विकास समिति प्रशिक्षण प्रमुख टार्जन सुब्बा, लेखापाल देवीकुमारी न्यौपाने कार्की, समिति सोलुखुम्बु अध्यक्ष डिबी रानापाल, तेक्वान्दो सहायक प्रशिक्षक जितेन्द्र मेचे, दिपक खवास, अनेरास्ववियु जिल्ला सदस्य ममता प्रसाईंलगायतको उपस्थिति थियो ।

